बुधबार, पुष २, २०८२

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की

नेपालखोज २०८२ मंसिर १८ गते १५:४२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन् ।

२२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरे ।

उनले ५०० भन्दा बढी गुठीहरूले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा–पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसका लागि सरकारले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया