विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : मन्त्री पुन

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) द्वारा आज यहाँ आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग हुनुलगायत कारणले यो क्षेत्र कमजोरी बनेको बताए । विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज पिछडिएको उनले धारणा राखे ।
मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनुको कारण विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । उनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिए ।
मन्त्री पुनले सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिनसक्ने विश्वास व्यक्त गरे ।
आफूलाई जिम्मेवारी आएमा कम्तीमा तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना मन्त्री पुनले सार्वजनिक गरे । नेपालमा व्यक्तिगतस्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै नास्टले गरिरहेको प्रयास प्रशंसनीय रहेको उनले बताए ।
कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साथै नास्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्रसमेत हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया