कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौं : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमलरीसम्बन्धी कार्यविधिमा छुटेका विषय संशोधन गरेर समेटिने बताएका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा आज मुक्त कमलरी विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा छैटौँ अधिवेशनमा उहाँले बृहत् छलफलपछि मुक्तकमैया, हलिया तथा कमलरी पुनःस्थापना कार्यविधि–२०८० जारी गरिए पनि छुटेका विषयलाई सम्बोधन गरिने बताएका हुन् ।
मुख्यमन्त्री शाहले सरोकार भएका पक्षका सुझाव समेटेर तुरुन्तै कार्यविधिमा आवश्यक संशोधन प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । वास्तविक मुक्तकमलरीले अनिवार्य रूपमा परिचयपत्र प्राप्त गर्नुपर्नेमा पनि उहाँले जोड दिए ।
कार्यक्रममा विभिन्न मागसहित मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझाउदै मञ्चका अध्यक्ष विन्द्रा चौधरीले मुक्तकमलरीको समस्या समाधानमा प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । उनले मुक्तकमलरीलाई निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित आवासलगायतको माग गरिएको बताए ।
मञ्चका केन्द्रीय अध्यक्ष हिरामती चौधरीले देशभर १२ हजार ८६९ जना मुक्तकमलरी रहेकामा सात हजार ५०० ले मात्र परिचयपत्र पाएको जानकारी गराए । मुक्त घोषणा गरिए पनि समस्या समाधानमा सरकार उदासिन देखिएको भन्दै उहाँले मुक्तकमलरीको गास, बास, रोजगारी, पहिचानलगायत समस्या समाधानका लागि आग्रह गरे ।
कार्यक्रममा भजनी नगरपालिका नगर केवल चौधरी, घोडाघोडी नगरपालिका प्रमुख खडकबहादुर रावत, मुक्तकमलरी विकास मञ्च, बर्दियाका विष्णु चौधरी, प्राकृतिक स्रोत व्यवस्थापन सञ्जालका बल्लु चौधरीलगायतले मन्तव्य राखेका थिए ।








प्रतिक्रिया