१८औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं । १८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा नेपाल निर्माण व्यवसायी महासंघले सोमवार राजधानीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भएको बाजा तथा झाँकी सहितको प्रभातफेरि थापाथली, माइतीघरमण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगर पुगी समापन भएको थियो ।
प्रभातफेरीको उद्घाटन गर्दै शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने धारणा राखे । वर्षौको मेहनतपछि स्थापित निर्माण कम्पनी डुबेमा त्यसको असर राज्यलाई पर्ने तर्फ उहाँले सचेत गराउँदै निर्माण व्यवसायीहरूलाई व्यवसायीक रुपमा प्रस्तुत हुन सुझाव दिए ।
ऐन कानूनमा रहेका केही गलत प्रावधानका कारण निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै सचिव सिग्देलले ऐन, नियम तर्जुमा गर्दा आफूहरूलाई नै ‘बाइपास’ गर्ने गरिएको गुनासो गरे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रुपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताए । पछिल्लो समय सरकारले हचुवाका भरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठीन मोडमा पुगेको अध्यक्ष सिंहको भनाइ थियो ।
सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ मा रहेका अव्यवहारिक प्रावधानका कारण नै रुग्ण ठेक्काहरूको समस्या जटिल बनेको अध्यक्ष सिंहले बताए । निर्माण उद्योगमैत्री ऐन कानूनका लागि महासंघले लामो समयअघि देखि खबरदारी गर्दै आएता पनि समस्या समाधानका लागि सरकारले ठोस चासो नदेखाएको अध्यक्ष सिंहले बताए ।
महासंघका महासचिव रोशन दाहालले निर्माण उद्योग अहिले मारमा परेकाले मुलुकको समग्र अर्थतन्त्र नै समस्यामा परेको धारणा राखे । १८ औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा सोमवार नै महासंघ सचिवालयमा एभरेष्ट अस्पतालको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई महासंघका अध्यक्ष रवि सिंह सहितका पदाधिकारीहरूले प्रमाणपत्र वितरण गरेका थिए ।
महासंघकै प्रायोजनमा सोमबार तिनकुनेस्थित निः सहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल वितरण गरिएको छ । साथै देभरका जिल्ला निर्माण संघ तथा प्रदेश महासंघहरूले पनि १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन् ।
१८औं राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा महासंघले गत शनिवार ‘एफक्यान रोड रेस’ को पनि आयोजना गरेको थियो । १८ औं राष्ट्रिय निर्माण दिवसकै अवसरमा मंगलवार महासंघ तथा नेपाल पूर्वाधार पत्रकार समाजको संयुक्त आयोजनामा सरोकारवालाहरूको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए ।








प्रतिक्रिया