‘सरकारी उदासिनताले निर्वाचन अनिश्चित बन्दै, भ्रष्ट मोहले आक्रोश बढ्दै’

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले देशभर झण्डै दुई दर्जन जिल्लामा “भाद्र २३ को दमन–हत्या र २४ को ध्वंसका जिम्मेवारलाई कारबाही गर” भन्ने विषयमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक सभापति कृष्ण पहाडीले शीघ्र निर्वाचन आवश्यक रहेको बताउँदै सरकारी उदासिनता र केही दलको भ्रष्ट मोहका कारण निर्वाचन अनिश्चित बन्दै गएको आरोप लगाए ।
उनका अनुसार जेन्जी आन्दोलनको भावनाअनुरूप भ्रष्ट शीर्ष नेतामाथि कारबाही नहुँदा र केही दलले नै आलोचनाको घेरामा रहेका नेताहरूलाई निरन्तरता दिँदै भ्रष्टाचारमै मोह देखाएकाले नागरिक आक्रोश फेरि बढिरहेको छ ।
पहाडीले भाद्र २३ को दमन र हत्या तथा २४ गतेको विध्वंसका जिम्मेवारलाई कारबाही गरी दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम समाजकी सभापति रेनुका पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नागरिक अगुवा अर्जुन पराजुली, विजयकान्त कर्ण, कृष्ण कँडेल तथा लेखक–पत्रकार श्रीकृष्ण अनिरुद्र गौतम र लक्ष्मीधर गुरागाईंलगायतले सुशासन लोकतन्त्रको मेरुदण्ड भएकोले त्यसको रक्षा अनिवार्य रहेको बताए ।








प्रतिक्रिया