बिहीबार, मंसिर २५, २०८२

एनपिएल : नवप्रतिभाका लागि सुनौलो अवसर

नेपालखोज २०८२ मंसिर २५ गते १३:०३

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ ।

प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्लेफर्म नपाएका खेलाडीका लागि एनपिएल सुनौलो अवसर बनेको हो । साथै आर्थिक हिसाबले पनि खेलाडीको अवस्था मजबुद बनाउन सहयोग मिलेको छ ।

कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट पनि जडान गरिएको छ । घरेलु मैदानमै फ्लडलाइट पहिलोपटक प्रतियोगिता भएको हो । यसको अनुभव नेपाली खेलाडीले घरेलु मैदानमै गर्न पाए ।

एनपिएलमा धेरै नवप्रतिभाले पनि अवसर पाएका छन् । उनीहरुका लागि सुखद् पक्ष पनि हो । विदेशी खेलाडीबाट सिक्ने र अनुभव साटासाट गर्न समेत मिलेको छ । प्रत्येक टोलीको अन्तिम ११ मा चार जना खेलाडी खेल्ने गर्दछन् । जसले गर्दा मैदानमै उनीहरुबाट नेपाली खेलाडीले सिक्ने मौका मिलेको छ ।

फाइनल पुगेका सुदूरपश्चिम रोयल्सका युवा खेलाडी हिक्मत महरा एनपिएल खेल्न पाउँदा एकदमै खुसी देखिनुभएको छ । ट्यालेन्ट हन्टबाट छानिएका हिक्मतले पहिलोपटक कीर्तिपुर मैदानमा क्रिकेट खेलेका हुन् ।

चितवन राइनोजविरुद्ध डेब्यू गरेका हिक्मतले उक्त खेलमा विदेशी खेलाडी शैफ जैबको विकेट पनि लिए ।

एनपिएलका साथै ग्रासरुट क्रिकेट पनि निरन्तर रूपमा भएमा नयाँ प्रतिभा अझै आउने हिक्मतको भनाइ छ ।

विराटनगर किङसका अलराउन्डर खेलाडी नरेन भट्ट पनि एनपिएलले नेपाली क्रिकेटको विकास र नवप्रतिभाका लागि राम्रो अवसर रहेको बताउछन् ।

नेपाली यु १९ राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालीसकेका नरेनले टिभीमा हेर्ने खेलाडीसँग खेल्न र अनुभव लिन पाइरहेका बताए ।

खेलाडीका लागि आर्थिक हिसाबले पनि एनपिएल राम्रो रहेको बताउदै उहाँले क्रिकेट खेलेरै पनि बाच्न सकन्छि भन्ने आधार भएको बताए ।

नेपाली क्रिकेटकै ठुलो लिग खेल्न पाउँदा सुदूरपश्चिम रोयल्सका दीपक बोहरा पनि खुसी रहेका छन् । उनले भने, ‘ठुला खेलाडीसँगै खेल्न पाउँदा एकदमै खुसी छौँ । एनपिएलबाट राम्रो अनुभव हुँदैछ । धेरै कुरा सिक्न पाइरहेका छौँ ।’

पोखरा एभेन्जर्सबाट एनपिएल खेलेका किरण ठगुन्ना पनि एनपिएलबाट धेरै कुरा सिक्ने मौका मिलेको बताउछन् । उनले भने, ‘एनपिएलबाट धेरै कुरा सिक्न मिलेको छ । विदेशी खेलाडी र नेपाली अग्रज खेलाडीसँग अनुभव साटासाट गर्न पाइयो ।’

नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा पछिल्लो समय लोकप्रिय खेलका रूपमा क्रिकेट उदाएको बताउनुभयो । नेपाली क्रिकेटको यो स्वर्णीम युग हो । योभन्दा पहिला क्रिकेटको यो उचाइ पुग्न सकेको थिएन ।

जारी एनपिएलमा आठ टोली सहभागी छन् । जसमध्ये कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बाहिरिसकेका छन् ।

विराटनगर किङस र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज भिड्दैछन् । आज जित्ने टोली मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग फाइनलमा खेल्नेछ ।

प्रतिक्रिया