शनिबार, मंसिर २७, २०८२

पुन:निर्माणका लागि बन्द हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने

नेपालखोज २०८२ मंसिर २५ गते १४:३४

काठमाडौं । बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुन:निर्माण अवधीभरका लागि श्रमिकहरुको रोजगारीको विषय समाधानका लागि भनि एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने विषयमा सहमति भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि होटल हाल बन्द छ ।

होटेल पुन:निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी लागि सहमति गरेको जनाएको छ । ‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ । पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन,’ होटल व्यवस्थापनले भनेको छ ।

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ र सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । यसले कर्मचारीको रोजिरोटी तथा रोजगारीको सुरक्षा हुने होटलले जनाएको छ ।

मर्मत-सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको बताइएको छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले स्पष्ट गरेको छ ।

प्रतिक्रिया