पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य कहिल्यै छुट्दैन-सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका करनबहादुर ऐर । पैसठ्ठी वर्ष नाघ्नै लागेका उनका आँखामा थकानभन्दा पनि दैनिकी चलाउने दृढता धेरै देखिन्छ ।
उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन् । बजार उनलाई धेरैले नामले भन्दा पनि मेहनतले चिन्छन् । ठेलामा सजाइएका थरिथरिका फलफूल, खेलौना, बिस्कुट, चाउचाउ, कुरकुरे, बदामलगायत सामान धेरै छैनन्, तर ऐरका लागि ती नै परिवार धान्ने आधार हुन् । दशकअघिदेखि सुरु गरिएको यो व्यापार अहिले स्थिर आयस्रोत बनेको छ । करिब २० हजार लगानीबाट चलेको ठेलाले उनलाई दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाइदिन्छ । सडक छेउकै ठेला भएकाले सवारीसाधनका चालक, परिचालक, सडकमा हिँड्ने यात्रु उनका ग्राहकका रूपमा रहने गर्दछन् ।
ऐरका दुई छोरा भए पनि उनको आफ्नै काम छ । छोराहरूको कमाइमा भने ऐर दम्पतीले अहिलेसम्म भर पर्नुपरेको छैन ।
उमेर पुगेका धेरै मानिसले विश्राम खोज्ने बेला, छोराबुहारीको भर पर्नुपर्ने समयमा ऐर भने आफ्नै पौरखमा बाँच्दै आएका छन् । व्यवसायमा उनको सबैभन्दा ठुलो सहाराका रूपमा श्रीमती रहेकी छिन् ।
ठेलामा समान बेच्ने मात्र नभई ऐर गाउँका पुराना अगुवा पनि हुन् । तत्कालीन झलारी गाउँविकास समितिका वडाध्यक्ष, नगरपालिका गठनपछि वडा सदस्य, अनि असिग्राम माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष भएर कार्य गरेका यी सबै भूमिका उनका समाजसेवा र नेतृत्वका प्रमाणका रूपमा रहेका छन् । जीवनका सबैभन्दा ऊर्जाशील वर्षहरू उनले समुदायका काममा खर्चिएका छन् । झलारी बजारमा आवतजावत गर्ने जोकोही पनि उनको अनुशासन, समयपालन र ग्राहकसँगको व्यवहारबाट प्रभावित हुन्छ ।
उनी चर्को आवाजमा बोल्दैनन्, उनको विनम्र व्यवहारले धेरैलाई आकर्षित गर्छ । उनलाई धेरैजसोले सभापति भनेर पनि चिन्ने गर्दछन् । सभापतिज्यू भनेपछि मुस्कुराएर विनम्र स्वरमा बोल्ने बानीले सबैले उनको आदर गर्ने गर्दछन् । जब साँझ पर्छ बजार सुस्ताउँदै जान्छ । नजिकैका पसल र होटलमा बत्ती बल्न थाल्छन् ।
त्यही बेला ऐर आफ्नो ठेलामा भएका समान समेटेर नजिकका पसलमा राखेर घर फर्कन्छन् । त्यो प्रक्रिया दैनिक दोहोरिरहन्छ । तर ऐरका कदम थाक्दैनन् । किनकि थकानले उनलाई रोक्दैन-जीवनले सिकाएको आत्मनिर्भरता अगाडि बढिरहन्छन् ।








प्रतिक्रिया