शुक्रबार, मंसिर २६, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नेपालखोज २०८२ मंसिर २६ गते १५:१३

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका–८ बस्ने २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनीखर्क बस्ने २५ वर्षीय सरोज तिमल्सिना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१–००६ ख ९८१४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका–४ नेमा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–१० बस्ने २९ वर्षीय सरोज डोटेल र सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने २९ वर्षीय निश्चल काफ्ले रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३ प ८४६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका–९ त्रिवेणी बस्ने २२ वर्षीय सुमित थापा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.२३ प ४३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–१ बस्ने ३० वर्षीय सानु कान्छा राई, हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने २७ वर्षीय सन्तोष आले मगर र चितवन राप्ती नगरपालिका–८ बस्ने २८ वर्षीय कर्ण गुरूङ रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०४४१ नम्बरको इभी गाडीमा सवार सानु कान्छा र सन्तोषलाई ४ सय ८० मिलिग्राम उक्त पदार्थ र बा.प्र.०२–००६ ज ७९८३ नम्बरको इभीमा सवार कर्णलाई १ ग्राम ६ सय २० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित खजुरा गाउँपालिका–६ बस्ने २५ वर्षीय सागर विकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१३ छोटी पुलबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–५ बस्ने ६५ वर्षीय भीम लिम्बु र ३० वर्षीय ख्याम लिम्बु रहेका छन् । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१–०२–०५७ प ५३२५ र को.२५ प १४३७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित दैलेख दुल्लु नगरपालिका–१ घर भएका १९ वर्षीय बिनोद खड्का समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने २७ वर्षीय नरेश कुमार आचार्य र ३० वर्षीय सन्देश आचार्य रहेका छन् । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२४४ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका–९ बस्ने चितवन माडी नगरपालिका–५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका–९ गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–५ भन्सार कार्यालय एक नम्बर ढाँटबाट स्रोत नखुलेको नगद ४ लाख ७० हजार रूपैयाँ सहित सोही महानगरपालिका–१५ बस्ने ४३ वर्षीय संजय चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया