शुक्रबार, मंसिर २६, २०८२

एमालेको महाधिवेशन: नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि

नेपालखोज २०८२ मंसिर २६ गते १७:२८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिका कारण काठमाडौं उपत्यकामा रौनक थपिएको छ ।

भोलि मङ्सिर २७ गतेदेखि काठमाडौंमा सुरु हुने तीनदिने महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको हो ।

विशेषगरी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन उद्घाटनस्थलसहित प्रभावशाली एवं शीर्ष नेताहरूको निवासमा चलहपहल बढेको देखिन्छ ।

यसैगरी, पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य पदमा आकाङ्क्षी नेताहरूको ‘लविङ’ र उनीहरूका पक्षमा राजनीतिक माहोल सिर्जना गर्न उत्सुक शुभेच्छुक तथा कार्यकर्ताको दौडधूपले पनि राजनीतिक चहलपहल बढेको देखिन्छ ।

मुलुकमा विकसित विषम राजनीतिक परिवेशकाबीच आगामी पाँच वर्षका नेतृत्व चयन गर्ने सन्दर्भमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका अवसरमा चहलपहल हुनुलाई स्वाभाविक रुपमा लिइनुपर्ने राजनीतिक विश्लेषकको भनाइ छ ।

राष्ट्रिय महाधिवेशनलाई एउटा उत्सवमात्र नभई पार्टी र देशको भविष्यका लागि नयाँ चुनौतीका विषयमा विमर्श गर्ने अवसरका रुपमा पनि प्रतिनिधिले लिएका छन् । प्रतिनिधिहरु आफ्नो परिचयपत्र लिन र नेतृत्व चयनमा निर्वाचन भएमा कसरी प्रस्तुत हुने भन्ने विषयमा चासोपूर्वक लागिरहेका देखिन्छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निरन्तरता र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा पुस्तान्तरण भन्ने अन्तरपार्टी बहस चलिरहेको छ । राष्ट्रिय राजनीतिमा सङ्कटका समयमा यसलाई सामना गर्नसक्ने नेतृत्व ओली नै हो भन्ने संस्थापन पक्षको धारणा र नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित रुपान्तरण हुनुपर्ने आवज वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट आइरहेको छ ।

एमालेको सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेछन् । सो सङ्ख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीत गर्न सकिने व्यवस्था रहेको छ । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।

मनोनीत हुने प्रतिनिधि, विधानमा कुनै संशोधन गर्ने नगर्ने या महाधिवेशमा कुनै प्रस्तावमा छलफल गर्ने नगर्ने भन्नेबारेमा आज बस्ने पार्टीको सचिवालय बैठकले निर्णय गर्ने नेता अधिकारीले जानकारी दिए ।

यसअघि, वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्नेगरी आफ्नो अवधारणापत्र पार्टीका महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरिसकेका छन् । पार्टीका अन्य नेताहरुले गत भदौ २०-२२ मा काठमाडौंमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक दस्तावेजमा छलफल भइसकेका सन्दर्भमा नीतिभन्दा नेतृत्वका विषयमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।

एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आफूहरु महाधिवेशनको अन्तिम तयारीमा पुगेको जानकारी दिँदै भक्तपुरको तीनकुनेस्थित सल्लाघारीको खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उनले महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशसहित देशभरबाट उल्लेखनीय सङ्ख्यामा जनसहभागिता हुनेगरी व्यापक प्रचारप्रसारसहित तयारी भइरहेको जानकारी दिए ।

नेता ज्ञवालीका अनुसार एमालेले महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार भारत, चीन, क्युबालगायत मुलुकका पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको छ । यस्तै नेपालस्थित कूटनीतिक मिसनलाई महाधिवेशनमा बोलाइएको छ ।

महाधिवेशन सफलतपूर्वक भव्य रुपमा सम्पन्न गर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरू आआफ्ना जिम्मेवारी पूरा गर्न व्यस्त देखिन्छन् ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमार्फत राष्ट्रिय एकता र निकासका निम्ति सम्पूर्ण नागरिकलाई अपिल गरिने बताए । उनले महाधिवेशनको प्रतीक चिन्ह (लोगो) मा काठमाडौं उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको बताए ।

प्रतिक्रिया