निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल

गण्डकी । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए ।
निर्वाचनका लागि विश्वासको वातावरण सृजना गर्न सरकारका तर्फबाट राजनीतिक दलसहित सरोकार भएका पक्षहरूसँग वार्ता र संवाद भइरहेको गृहमन्त्री अर्यालले बताए ।
निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गरिने उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ७० प्रतिशतलाई कारागार फर्काइएको र लुटिएका हतियार पनि फिर्ता हुने क्रम जारी रहेको गृहमन्त्री अर्यालले बताए ।
गृहमन्त्री अर्यालले निर्वाचन सम्पन्न गराउन प्रदेश सरकारको महत्त्वपूर्ण भूमिका रहने बताए । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारीसहित गण्डकीका ११ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गरी भावी सुरक्षा सुरक्षा रणनीति र कार्यदिशा तय गरिने गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले बताए । गोष्ठीमा निर्वाचन सुरक्षा योजनाका बारेमा पनि छलफल हुने उनको भनाइ छ ।








प्रतिक्रिया