बिहीबार, पुष ३, २०८२

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

नेपालखोज २०८२ पुष ३ गते ६:५४

नेपालगञ्ज । बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

उनले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकाको रहेको उल्लेख गर्दै नाम दर्ताको रेकर्ड जिल्लामा नभएकाले दर्तामा दोहोरोपना देखिएको बताए ।

यसैबीच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराएअनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिए ।

यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए । हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र चार वटा स्थानान्तरण भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया