बिहीबार, पुष ३, २०८२

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

नेपालखोज २०८२ पुष ३ गते ८:२२

गलकोट (बागलुङ) । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी नागरिकताबाट वञ्चित भएको बारेमा उजागर भएको थियो ।

सो समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उहाँ ‘धान्द्रुके बाजे’ उपनामले चिनिनु हुन्थ्यो । उनले नागरिकता प्राप्त गरेसँगै पहिलोपटक रु आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेका बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन भएका थिए । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए ।

नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । ‘सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आएका तर बोल्न नसक्ने भएकाले उनीलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उनकै संरक्षकत्वमा नागरिकता लिनुभयो’, खड्काले भने । बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तराद्र्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो । -रासस

प्रतिक्रिया