बिहीबार, पुष ३, २०८२

जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे

नेपालखोज २०८२ पुष ३ गते २०:२३

गोरखा । जाडो बढ्दै गएपछि जिल्लाको हिमाली भेगका बासिन्दा सहर झर्न थालेका छन् । चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यस वर्ष पनि जाडो छल्न धमाधम सहर झर्न थालेका हुन् ।

‘अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्’, चुमनुब्री–७ छेकम्पारको पासाङफुञ्जो लामा भन्छन्, ‘अहिले हरेक घरमा एक जनामात्र होलान् ।’ गाउँ कुर्न बसेकाले खेतीपाती र बस्तुभाउको रेखदेख गर्ने उनको भनाइ छ ।

गाउँमा रहेकाले छरछिमेक तथा आफन्तको घरको रेखदेख गरिदिने उनले बताए । जाडो बढेपछि मङ्सिर दोस्रो सातादेखि लेकको चरन र खर्कमा राखिएका चाैंरी गाउँमा झारिएको छ । याक भने हिमाली क्षेत्रको चरनमै रहेको सोही वडाका वडाध्यक्ष टासी लामाले बताए ।

चुमनुब्री–१ मा पनि बस्ती खाली हुन थालेका छन् । तिब्बत सीमाना नजिक पर्ने साम्दो गाउँ खाली हुन थालेको त्यहाँका स्थानीयवासीको भनाइ छ । यहाँका करिब ४५ घरधुरीमध्ये दश, १५ घरबाहेक सबै घरका बासिन्दा ताला लगाएर सहर झरेका स्थानीय वाङ्चुक राप्तेन लामाले जानकारी दिए । अहिले सहर झरेका सहरमै ग्याल्बो ल्होसार मानेर गाउँ फर्कने उनको भनाइ छ ।

प्रतिक्रिया