सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

नेपालखोज २०८२ पुष ६ गते ६:५४

धरान (सुनसरी) । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् ।धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन् ।

धरान कृषि बजारमा गत वर्षको तुलनामा यस वर्ष कात्तिक, मङ्सिरमै करिब २५ प्रतिशत बढी सुन्तला भित्रिएको धरान कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार यस वर्ष सुन्तलाको कारोबारमा पनि ३० प्रतिशतले वृद्धि भएको छ । अहिले सुन्तलाको बिक्री राम्रो भइरहेकाले यो किसान र उपभोक्ता दुवैका लागि सकारात्मक पक्ष भएके उनले बताए।

पछिल्लो समय सुन्तलाखेतीको क्षेत्र बढेका कारण पनि कारोबार बढेको उनको भनाइ छ । कात्तिक १५ गतेदेखि सुन्तला बजारमा आउन सुरु भई चैतको दोस्रो सातासम्म सुन्तला आउने गरेको उनले जानकारी दिए । “ढुवानी व्यवस्थित गर्न, ग्रेडिङ, प्याकेजिङ तथा ब्रान्डिङ गर्नसके कोशी करिडोरको सुन्तला स्वादिलो र मीठो हुने भएकाले बजार विस्तार अझ प्रभावकारी हुन्थ्यो”, उनले भने ।

भोजपुरका किसान प्रदीप राई भन्छन्, ‘प्रत्येक वर्ष २० देखि ३० मेट्रिक टन सुन्तला बिक्री गर्दै आएकामा गत वर्ष १६ मेट्रिक टनमात्र सुन्तला फल्यो तर यो वर्ष भने दुई महिनाको अवधिमै १२ मेट्रिक टन बढी सुन्तला बिक्री भइसकेको छ । यो वर्ष उत्पादन राम्रो छ, मूल्य यथावत रहे पनि उत्पादन वृद्धि भएकाले आम्दानी राम्रै हुने अपेक्षा छ ।’ उनले विगत १३ वर्षदेखि सुन्तला व्यवसाय गर्दै आएको बताए ।

अर्का व्यापारी अशोक राईका अनुसार यस वर्ष फल लाग्ने समयमा मौसम अनुकूल रहेकाले उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । विगत २२ वर्षदेखि धरान कृषि बजारमा व्यवसाय गर्दै आएका व्यापारी टीकाराम श्रेष्ठले वार्षिक करिब १२ सय क्विन्टलभन्दा बढी सुन्तला बिक्री गर्दै आएको बताए। उनका अनुसार दमक, काकरभिट्टा, झापादेखि पश्चिमी क्षेत्रमा सुन्तला पठाइने गरेको छ । सुन्तला एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने भएकाले यस वर्ष उत्पादन बढेको हो ।

प्रतिक्रिया