सोमबार, पुष ७, २०८२

‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’

नेपालखोज २०८२ पुष ७ गते १९:२७

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५, वन समिति बजार छेउको चिया पसलमा अचेल हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाहरूको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागि भन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी र अगुवा नागरिक हुन्छन् ।

हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । कसैले भन्छन् चुनाव हुन्छ, कसैले भन्छन् हुँदैन । तर्क, आशंका र विचार फरक फरक भए पनि अन्तिममा एकमत देखिन्छन्—निर्वाचनको विकल्प छैन । प्रायः यहाँ चिया पसलमा भेटिने नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता शिवी लुहार निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गर्दै पछिल्लो परिस्थितिलाई सम्हाल्न निर्वाचन निर्विकल्प हो ।

उनी केही संशय व्यक्त गर्दै भन्छिन्, ‘सरकारले मिति घोषणा गरेर मात्र पुग्दैन, सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर सुरक्षाको प्रत्याभूति गराउनु उत्तिकै आवश्यक छ ।’ जसरी नेपालको संविधानले अङ्गीकार गरेको लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि आवधिक निर्वाचन हुनुपर्ने उनको मतमा धेरै सहमत देखिन्छन्, त्यसैगरी वर्तमान राजनीतिक परिस्थितिले जनमानसमा केही संशय र दुविधा सिर्जना गरेकामा एकमत सुनिन्छन् ।

‘निर्वाचनले नै जनमतको कदर गर्छ, हाम्रो पार्टीले चुनावको तयारी स्वरूप वडास्तरसम्मै सङ्गठन विस्तार र एकता सभाहरू गरिरहेको छ’, लुहार भन्छन्, ‘तर सरकारले तोकिएकै समयमा चुनाव हुन्छ भन्ने ठोस आधार र वातावरण तयार गर्न ढिलाइ गर्नुहुँदैन । केही विषयमा असहमतजस्तो देखिने दलहरू पनि चुनावी महोल बनाउन केन्द्रित हुनुपर्छ ।’ नेपाली कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिका सभापति दानसिंह ऐर भने संसद् पुनःस्थापनाको मुद्दा अदालतमा विचाराधीन रहेकाले केही अन्योलमा छन् ।

यद्यपि, पार्टीले आन्तरिक रूपमा निर्वाचनकै तयारी स्वरूप सदस्यता नवीकरण र उम्मेदवार सिफारिसको प्रक्रिया अघि बढाएकाले चुनावमै होमिने आफ्नो विश्वास रहेको उनको धारणा छ । ऐर भन्छन्, ‘लोकतन्त्रमा जनताको घरदैलोमा जाने माध्यम भनेकै निर्वाचन हो । समय कम भएकाले सरकारले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने देखिन्छ ।’

त्यही बहसमा थपिनुहुन्छ कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका प्रमुख भवराज निरौला । उहाँ सङ्घीयताको सफल कार्यान्वयनका लागि निर्वाचनले नयाँ ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै निर्वाचनका लागि आवश्यक प्राविधिक तयारीलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।

‘मतदाता शिक्षाको सुरुआत गरी सक्नुपथ्र्यो, हालसम्म त्यस्तो भएकोजस्तो लाग्दैन । सुरक्षाकर्मी परिचालन, मतदानमा खटिने कर्मचारीको खटनपटनलगायत कार्यमा ठोस प्रगति नदेखिँदा केही अन्योल भने छ । यसलाई चिर्दै अगाडि बढ्नुपर्छ’, क्याम्पस प्रमुख निरौला भन्छन् । राजनीतिका जानकार टेकबहादुर हमाल पनि चुनावलाई लोकतन्त्र र सङ्घीयतालाई थप बलियो बनाउने माध्यमका रूपमा अथ्र्याउँछन् ।

यसरी छलफलमा सहभागी हुनेमध्ये अधिकांशले लोकतन्त्रमा निर्वाचनका मुख्य सरोकार भएकाहरू राजनीतिक दल नै भएकाले सरकारले संशयका घेराहरू तोड्दै चुनावी प्रक्रियामा सामेल गराउनुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया