बुधबार, पुष ९, २०८२

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

नेपालखोज २०८२ पुष ९ गते १३:५६

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मंगलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।

लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

लिबियाका प्रधानमन्त्री अब्दुल-हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल-हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गरेका छन् । उनले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई ‘दुखद दुर्घटना’ को संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गरेका छन् ।

जनरल अल-हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर थिए । संयुक्त राष्ट्रसंघको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल-फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल-कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल-असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब रहनुभएको छ । तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।

टर्कीका अधिकारीहरूका अनुसार फाल्कन ५० प्रकारको व्यापारिक जेटको भग्नावशेष अङ्काराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हेमानाको केसिक्कवाक गाउँ नजिकै फेला परेको छ ।

यसअघि मंगलबार साँझ अङ्कारास्थित एसेनबोगा विमानस्थलबाट उडान भरेपछि लिबिया फर्कने क्रममा विमानसँग सम्पर्क विच्छेद भएको टर्कीका हवाई यातायात नियन्त्रकहरूले जानकारी दिएका थिए ।

टर्कीका गृहमन्त्री अली येरलिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमान साँझ ८:३० बजे उडेको र करिब ४० मिनेटपछि सम्पर्क गुमेको बताएका छन् । उनका अनुसार सबै सञ्चार बन्द हुनु अघि विमानले हेमाना नजिकै आपतकालीन अवतरणको संकेत पठाएको थियो ।

टर्कीको राष्ट्रपतिको सञ्चार विभागका प्रमुख बुरहानेटिन डुरानले विमानले विद्युतीय त्रुटि भएको जानकारी हवाई यातायात नियन्त्रणलाई गराएको र आपतकालीन अवतरणको अनुरोध गरेको बताए ।

त्यसपछि विमानलाई एसेनबोगा विमानस्थलमै फर्काउन निर्देशन दिइएको र अवतरणको तयारी थालिएको उनले जानकारी दिए । तर आपतकालीन अवतरणका क्रममा विमान राडारबाट हराएको उनले उल्लेख गरे ।

स्थानीय टेलिभिजन च्यानलहरूले प्रसारण गरेको सुरक्षा क्यामेराको दृश्यमा हेमानाको रात्रि आकाश एकाएक विस्फोटले उज्यालो भएको देखिएको छ ।

अङ्कारामा रहँदा जनरल अल-हददले टर्कीका रक्षामन्त्री यासर गुलेर तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । दुर्घटनापछि अङ्काराको विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो र धेरै उडानहरू अन्यत्र मोडिएका थिए ।

टर्कीको न्याय मन्त्रालयका अनुसार दुर्घटनाको अनुसन्धानका लागि चार जना अभियोजक तोकिएका छन्, जुन यस्ता घटनामा सामान्य प्रक्रिया मानिन्छ । लिबियाली सरकारले पनि दुर्घटनाको छानबिनमा टर्कीका अधिकारीहरूसँग सहकार्य गर्न अङ्कारामा एक टोली पठाउने जनाएको छ ।

सन् २०११ को विद्रोहपछि लामो समय शासन गरेका तानाशाह मुअम्मर गद्दाफीको पतन र मृत्यु भएयता लिबिया गहिरो अराजकतामा फस्दै आएको छ । देश पूर्व र पश्चिममा आधारित प्रतिस्पर्धी प्रशासन, सशस्त्र मिलिसिया र विभिन्न विदेशी शक्तिको समर्थनमा विभाजित रहँदै आएको छ ।

टर्कीले पश्चिमी लिबियास्थित सरकारसँग गठबन्धन कायम राखेको छ भने पछिल्लो समय पूर्वी क्षेत्रमा आधारित सरकारसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ ।

टर्कीको संसद्ले लिबियामा तैनाथ टर्की सेनाको कार्यकाल दुई वर्षका लागि विस्तार गर्ने स्वीकृति दिएको भोलिपल्टै लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको थियो । सन् २०१९ मा अङ्कारा र त्रिपोलीस्थित सरकारबीच भएको सुरक्षा तथा सैन्य सहयोग सम्झौतापछि टर्कीले लिबियामा सेना तैनाथ गर्दै आएको छ । रासस/एपी

प्रतिक्रिया