शुक्रबार, पुष ११, २०८२

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

नेपालखोज २०८२ पुष ११ गते ६:४८

मुग्लिन (चितवन) । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदैछ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उनले जानकारी दिए ।

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।

महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि रु १० करोडको कारोबार गर्ने गरेको बताए ।

यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्री गर्न बजारको कुनै समस्या नरहेको उनले बताए । सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बिरुवा वितरण गर्दै आएको छ ।

सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

प्रतिक्रिया