कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

नेपालखोज २०८२ पुष १२ गते १९:२६

काठमाडौं । नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै, विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पनि पार्टीमा फर्कनका आह्वान गरेको छ । त्यसरी फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी विभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ ।

कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णयसमेत गरेको मुख्यसचिव पौडेलले उल्लेख गरे ।

बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत अगाडि बढाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने जनाइएको छ ।

प्रतिक्रिया