२५ अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ को बिक्री आज

नेपालखोज २०८२ पुष १६ गते १३:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । आज बुधबार अपरान्ह दुई बजेसम्म राष्ट्र बैैकले एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ बिक्री गर्न लागेको हो । यही पुस १६ गते निष्काशन मिती तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि भने विस २०८३ पुस १६ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार अर्धबार्षिकरुपमा व्याजदर भुक्तानी हुने यो ऋणपत्र न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म खरिद गर्न सकिने छ ।

यसरी खरिद गरिएको ऋणपत्र राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । काउण्टरपार्टीले ऋणपत्रकोे बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र विक्री गरिने छ ।

प्रतिक्रिया