सामाजिक सञ्जालमार्फत फैलाइएका असहिष्णुता अभिव्यक्तिप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण, सद्भाव कायम राख्न अपिल

चन्द्रपुर (रौतहट) । जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा भएको सर्वदलीय बैठकमार्फत जारी गरिएको सार्वजनिक अपिलमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ, ‘सामाजिक सञ्जालमा फैलाइने अफवाह, उत्तेजक सामग्री तथा नकारात्मक सन्देशले सामाजिक एकता र धार्मिक सहिष्णुतामा गम्भीर असर पार्न सक्छ ।’
यस्ता गैर जिम्मेवार गतिविधि गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ । अपिलमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता नै देशको पहिचान भएको जनाइएको छ ।
यस्ता विविधताले समाजलाई जोड्ने काम गरे पनि पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरूपयोग गरी धार्मिक, सामाजिक तथा सांस्कृतिक आस्थामाथि प्रहार गर्ने गतिविधि देखिन थालेको प्रशासनको भनाइ छ ।
सामाजिक सद्भाव बिगार्ने कुनै पनि प्रकारका गैरकानुनी गतिविधि, प्रदर्शन वा उत्तेजनालाई निरुत्साहित गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई थप सतर्क रहन निर्देशन गरिएको छ । सामाजिक एकता विथोलिएमा त्यसको परिणाम गम्भीर हुने भएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।
देशका केही जिल्लामा जस्तै यस रौतहट जिल्लामासमेत देखा परेको धार्मिक, जातीय तथा सामाजिक सद्भाव र सहिष्णुतामा असर पर्नेगरी प्रदर्शन गरिएका उत्तेजक गतिविधि, अफवाह वा सामाजिक सञ्जालमर्फत फैलाएका नकारात्मक संदेशमा निगरानी बढाउन र दोषीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन र यस्ता गैरकानुनी प्रयासलाई निस्तेज बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको उक्त अपिलमा जनाइएको छ ।
पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरूपयोग गरी भड्काउपूर्ण अभिव्यक्ति दिने र त्यसैका आधारमा अरुको धार्मिक, सामाजिक, सांस्कृतिक धरोहर, आस्था र विश्वासमाथि प्रहार गर्ने जस्ता अस्वभाविक र गैरजिम्मेवार गतिविधि र हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको छ अपिलमा भनिएको छ ।
यस्ता गतिविधिमार्फत सामाजिक एकता, भ्रातृत्व र मानवीय मूल्य मान्यताको मूल मर्मलाई नै धुमिल बनाउने प्रयासप्रति खेद व्यक्त गर्दै सामाजिक एकतालाई विभाजन गर्ने असामाजिक तत्वबाट सचेत रहनसमेत प्रशासनले अपिल गरेको छ ।
अपिलमा रौतहट जिल्लामा शान्ति, सद्भाव र भाइचारा कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सरकार, सामाजिक अभियन्ता, धार्मिक अगुवा, सञ्चारकर्मी, नागरिक समाज, शिक्षक, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह आग्रह गरिएको छ ।

प्रतिक्रिया