जेन्जी आन्दोलनबाट उदाएका हमाल राप्रपा सुर्खेत–१ बाट प्रतिनिधिसभाका लागि सिफारिस

काठमाडौं । जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई पार्टीभित्र उदाउँदै गरेका प्रभावशाली र सम्भावनाशील युवामध्ये एकका रूपमा अघि सारेको जनाएको छ ।
पार्टीका अनुसार, समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई सिफारिस गरिएको हो ।
एक दशकदेखि निरन्तर व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन्जी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए ।
उनले शासकीय स्वरूप र सार्वजनिक संस्थाहरूको पुनर्संरचनाको मुद्दालाई जबरजस्त अगाडि बढाएका थिए । युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा उक्त आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिन्छ ।
राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा सशक्त प्रस्तुति र स्पष्ट दृष्टिकोणका कारण चिनिएका युवा नेता हुन् । उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ ।
आगामी निर्वाचनमा हमाल सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिएको छ ।
पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा राष्ट्रिय पहिचान बनाइसकेका युवा नेताका रूपमा हमालले सुर्खेत–१ मा बलियो राजनीतिक पकड जमाउन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया