प्रधानमन्त्री ओलीद्वारा बकर–इदको शुभकामना सन्देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
इस्लाम धर्मावलम्बीको पर्व बकर–इद (इदुल जोहा) का अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा आह्वान गरेका छन् ।
“यसै दिनदेखि हिजारी संवतको नयाँ वर्षको शुरूआत हुने गर्दछ । गरिब तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ”, उनले सन्देशमा भनेका छन् , “धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवर्धन गर्दै आएका छन् ।”
नेपालमा धार्मिक, सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन् , “विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउनु पर्नेछ ।” बकर–इदलाई करिब चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रुपमा लिइन्छ ।
प्रतिक्रिया