खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

नेपालखोज २०८२ पुष २८ गते १३:१८

चौतारा(सिन्धुपाल्चोक) । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय गरिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानजकारी दिए ।

राईका अनुसार आगो फैलिँदै गएपछि स्थानीय तथा पर्यटक आवतजावतसँगै मालबाहक सवारीसाधनको आवागमनसमेत ठप्प पारिएको छ ।

उनका अनु्सार नाकासँग जोडिएको लिपिङ र तातोपानीलगायत आसपासका क्षेत्रको आकाश धुँवा र खरानीले ढाकिएको तथा आगलागीले सीमा क्षेत्रको सञ्चार तथा नेटवर्क सेवासमेत प्रभावित भएको छ ।

गतवर्षको बाढीले रसुवा नाका बन्द भएपछि चीनसँगको अधिकांश व्यापार तातोपानी नाकामार्फत हुँदै आएको थियो । तर, अहिले तातोपानी नाकासमेत बन्द भएपछि करोडौँ मूल्यका आयातित सामान बोकेका कन्टेनर रोकिएका छन् ।

नाका कहिले खुल्ने भन्ने टुङ्गो नलाग्दा व्यवसायी र आयातकर्ता थप सङ्कटमा परेको नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटा बताउँछन् ।

प्रतिक्रिया