‘जाडोमा प्याकेटको सुप होइन, घरकै गेडागुडी र स्थानीय खाना अमृत’

जाडोयाम सुरु भएसँगै रुघाखोकी र चिसोका कारण लाग्ने रोगबाट बच्न कस्तो खानपान अपनाउने भन्ने चिन्ता धेरैमा हुन्छ। यसै सन्दर्भमा वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले जाडो छल्न महँगा र विदेशी खानेकुराको साटो नेपाली भान्सामा नै पाइने स्थानीय खानेकुरा ‘अमृत’ समान हुने बताएकी छन् ।
डा. उप्रेतीले जाडोमा शरीरलाई न्यानो राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन अपनाउनुपर्ने सावधानी र खानपानबारे महत्त्वपूर्ण सुझावहरू दिएकी छन्। बजारिया सुप अस्वस्थकर, घरकै दाल उत्तम डा. उप्रेतीका अनुसार ‘सुप’ भन्नेबित्तिकै विदेशी ब्रान्ड वा बजारका प्याकेटको हुनुपर्छ भन्ने भ्रम छ। बजारमा पाइने प्याकेटका सुपमा अत्यधिक चिल्लो र ‘प्रिजर्भेटिभ’ रसायन हुने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
“बरु हाम्रो भान्सामा पाक्ने दाल, तरकारीको रस, गुन्द्रुक, तामा र बोडीको झोल नै उत्कृष्ट सुप हुन्,” डा. उप्रेती भन्छिन्। उनले घरमै मास, गहत, चना, मुङजस्ता गेडागुडी भिजाएर त्यसमा मुला, गाजर वा काउलीका पात मिसाई जिम्बु र टिमुरले झानेर खाँदा स्वाद र स्वास्थ्य दुवै पाइने बताइन्। अस्ट्रेलियामा खाइने ‘पम्पकिन सुप’ भन्दा नेपाली फर्सीको तरकारीमा भटमास र चना हालेर खानु धेरै पोषिलो हुने उनको तर्क छ। जाडोको ‘सुपर फुड’: गहत र कोदो जाडो महिनामा शरीर तताउन सुदूरपश्चिममा लोकप्रिय ‘गहत’ को दाललाई डा. उप्रेतीले अचूक औषधिको रूपमा व्याख्या गरेकी छन्।
गहतको पिठोलाई पानीमा हालेर नुन–चुकसहित उमालेर बनाइने ‘घुर्रे’ भातसँग खाँदा शरीरमा ऊर्जा मिल्छ। यस्तै, कोदोको रोटी र सुपले शरीरमा न्यानो दिने तथा चना, गहुँ, तिलजस्ता गेडागुडी टुसा उमारेर खाँदा प्रशस्त प्रोटिन र भिटामिन पाइने उनले बताइन्। मौसम अनुसारका अम्बा, अमला, सुन्तला, बिमिरो जस्ता फलफूलले रोगसँग लड्ने क्षमता बढाउँछन्। बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल जाडोमा बालबालिका र वृद्धवृद्धाको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने डा. उप्रेतीको सुझाव छ। बालबालिकालाई रोटी, आलु, अन्डा र गेडागुडीको खाजा दिन सकिन्छ।
चपाउन गाह्रो हुने वृद्धवृद्धा वा बिरामीका लागि गेडागुडी र तरकारी पिसेर सुप बनाई खुवाउँदा पचाउन सजिलो हुन्छ। साथै, तातो दुध, मह–कागती पानी र घरमै बनाएको ताजा फलफूलको रस दिनु उपयुक्त हुन्छ। सावधानी: न्यानो पार्ने नाममा ज्यान नजाओस् जाडोमा न्यानो हुन कोइला, हिटर वा ग्यास बाल्दा झ्याल–ढोका पूरै बन्द गर्न नहुने चेतावनी डा. उप्रेतीले दिएकी छन्। हावा नछिर्ने कोठामा आगो बाल्दा कार्बनमोनोअक्साइड ग्यास जम्मा भई निस्सासिएर मानिसको मृत्यु समेत हुन सक्ने भएकाले सतर्क रहन उनले आग्रह गरिन्।
उनले न्यानोका लागि महँगो लुगा नै चाहिने नभई सुती वा फ्लाटिनका धेरै पत्र कपडा लगाएर पनि चिसोबाट बच्न सकिने बताइन्। बच्चालाई सुत्दा तातो तेलले मालिस गर्ने र वृद्धवृद्धालाई ‘हटवाटर ब्याग’ ले सेक्दा आराम मिल्छ। अन्त्यमा, जाडोमा महँगा र देखावटी खानेकुराको पछि नलागी आफ्नै घर–आँगनमा पाइने सागपात, गेडागुडी र स्थानीय अन्नको सही प्रयोग गरेर निरोगी रहन डा. उप्रेतीले सबैलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया