‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

नेपालखोज २०८२ माघ १ गते १९:३७

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ ।

यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । चलचित्रकर्मीहरूसँग अन्तरक्रिया, युवा पुस्ता र एआई (कृत्रिम बुद्धिमत्ता) चलचित्रलाई प्राथमिकतासहित आयोजना हुने उक्त महोत्सव ‘विश्वभरका कथाहरुको उत्सव’ भन्ने नारा राखिएको अध्यक्ष पाठकले बताए ।

अध्यक्ष पाठकका अनुसार कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सङ्घाइ, लोकार्नो, बुसान र गोवा जस्ता विश्व प्रसिद्ध अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत चलचित्र, छोटा चलचित्र, वृतचित्रहरू यसपटक महोत्सवको मुख्य आकर्षण हुन् ।

महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार ५०० अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तरराष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई रु एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०÷५० हजार र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघुचल चित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया