प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरिएको उनले बताए ।
घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताए ।
प्रधानमन्त्री कार्कीले पुरानो मानसिकता, सोच र शैलीले अब देश नचल्ने भन्दै युवाको भावनाअनुसार शासन सञ्चालन गर्न युवा र इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिएका प्रेस सल्लाहकार रावलले बताए । प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन हुन नदिन अब समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया