प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

नेपालखोज २०८२ माघ २ गते १९:१८

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्बजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।
नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजिव रुपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरुले दिनानु दिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्‍वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयहरूलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायांकनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तवरले प्रस्तुत गरिएको छ । नवयुवा पुस्ताको आन्दोलन पश्‍चात खरानीबाट उठेर नागरीक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य वोधलाई यस गीतले भावानात्मक रुपमा उजागर गरेको छ ।

यस गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ÷मास्टरिङ्ग रहेको छ । गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ ।

मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायांकन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ । गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया