जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

नेपालखोज २०८२ माघ ५ गते १५:५३

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उक्त धारणा व्यक्त गरेका हुन् ।

आजै उनी काठमाडौंबाट चन्द्रगढी विमानस्थलमा आइपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायत कार्यकर्ताले स्वागत गरेका थिए ।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आएका जिल्ला अध्यक्ष गिरीले बताए ।

पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उनले बताए ।

गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आएका हुन् ।

प्रतिक्रिया