शुक्रबार, जेठ ४, २०८१

नवौं महाधिवेशपछि जाग्ला त प्रेस युनियन ? अध्यक्षमा शिव लम्सालसहित अन्य को-को ?

नेपालखोज २०७९ असार २८ गते ११:४९

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरूको भेलाले २०४८ जेठ १३ गतेका दिन नेपाल प्रेस युनियनको स्थापना गरेको हो । स्थापना भएदेखि युनियनले अनेकौं आरोह-अवरोहहरू पार गर्दै आएको छ । कुनै कार्यकालमा सही नेतृत्वले युनियनलाई हाँक्न सक्यो भने कुनै कार्यकालको नेतृत्व नाम मात्रैको भयो ।

सातौं महाधिवेनसम्मको नेतृत्वलाई नियाल्दा केही कमीकमजोरी पनि नभएका होइनन् । सातौं महाधिवेशनले चयन गरेको नेतृत्वसम्मले संगठनको बदनामै हुने गरी कमी-कमजोरीहरू गरेका उदाहरण कमै मात्रै देखिन्छ । सातौं महाधिवेशनसम्म एक कार्यकाल सकिनेबित्तिकै अर्को महाधिवेशन भइहाल्थ्यो ।

तर जब प्रेस युनियनको आठौं महाधिवेशन भयो, त्यसपछि नेतृत्वमा अनेक गुटगत प्रवृत्ति हाबी हुन थाले । आठौं महाधिवेशन भएको आठ वर्षपछि बल्ल प्रेस युनियन नवौं महाधिवेशन गर्ने तरखरमा छ । वास्तवमा आठ वर्षसम्म पनि महाधिवेशन गर्न नसक्नु नेतृत्वको नै कमजोरी देखिन्छ ।

आठौं महाधिवेशनमा चयन भएको नेतृत्वले गुटउपगुटको चंगुलमा परेर लामो समससम्म महाधिवेशन गर्न नसक्दा पत्रकारिताजगतकै बेइज्जति भएको छ । ठूला राजनीतिक दलदेखि तिनका भ्रातृ संगठनका अधिकारका कुरा जोडतोडले उठाउने युनियनमा आबद्ध पत्रकारले आफ्नै संगठनलाई लथालिंग पार्नु कदापि न्यायोचित नदेखिएको सदस्यहरू गुनासो गर्छन् ।

प्रेस युनियनको विगत

२०४८ जेठ १३ गते तत्कालीन प्रधानमन्त्री दिवंगत गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो । युनियनको स्थापनाकालमा जम्मा १७ सदस्य थिए । स्थापनाकालदेखि नै युनियनले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो संगठन यतिखेर व्यावसायिक तथा पेसागत रूपमा स्थापित हुँदै आएको छ । यसको उत्पत्ति नै ट्रेड युनियनवादको अवधारणाअनुरुप भएको हो ।

ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरूको हकहित संरक्षण ट्रेड युनियनवादभित्र अन्तरनिहीत छ । सञ्चारकर्मीलाई संगठित गर्दै श्रमजीवीका पक्षमा वकालत गर्दै आएको प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि मानिन्छ ।

युनियनको महाधिवेशन तीन/तीन वर्षमा हुँदै आएको छ । २०५१ जेठ २७ र २८ गते पाल्पा जिल्लाको तानसेनमा दोस्रो महाधिवेशन भई रमेश तुफानको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । तेस्रो महाधिवेशन वीरगन्जमा २०५३ साल मंसिर २२ र २३ गते सम्पन्न भई तारा बराललाई अध्यक्षमा नेतृत्व चयन भएको थियो ।

नेपाल प्रेस युनियनको चौथो महाधिवेशन दाङको घोराहीमा २०५५ साल माघ २४ र २५ गते भएको थियो । उक्त महाधिवेशनमा निर्वाचन प्रक्रियाका क्रममा केही विवाद भएपछि त्यसले उग्र रुप लिई निर्वाचन स्थगन गरिएको थियो । त्यसैगरी युनियनको पाँचौं महाधिवेशन सिराहाको लाहानमा २०६० साल असार १४ र १५ गते सम्पन्न भइ मुरारीकुमार शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

युनियनको छैटौं महाधिवेशन कास्कीको पोखरामा २०६४ भदौ २८ र २९ गते सम्पन्न भयो । त्यस अधिवेशनले समीरजंग शाहलाई अध्यक्षमा निर्वचित गरेको थियो । त्यसैगरी युनियनको सातौँ महाधिवेशन २०६७ चैत ६ र ७ गते सुनसरीको इटहरीमा भयो ।

सो महाधिवेशनमा माउ पार्टी कांग्रेसले हस्तक्षेप गर्यो । प्रतिनिधिले चाहेको नेता छान्न सकेनन् । निर्विरोधका नाममा टीका लगाएर किरण पोखरेलको नेतृत्वमा ५३ जनाको कार्यसमिति चयन भयो । वास्तवमा सातौं महाधिवेशनमा पार्टीले हस्तक्षेपकारी भूमिका खेलेदेखि युनियनभित्रको राजनीति आठ वर्षसम्म बिग्रिएको छ ।

संगठनामात्मक ढाँचा र भूमिका

नेपाल प्रेस युनियनको विधान २०४८ बमोजिम युनियनको संगठनात्मक ढाँचा तोकिएको छ । कार्याधिकारका दृष्टिमा युनियनको साधारणसभा सबैभन्दा माथिल्लो र बढी शक्तिशाली निकाय हो । त्यसैको मुनि रहेर केन्द्रीय समितिले आफ्नो कार्य गर्ने गर्दछ । यसै क्रमअनुसार केन्द्रीय समिति मातहत रहेर क्षेत्रीय समिति, जिल्ला समिति, उपसमिति र प्रतिष्ठानहरूले आफ्नो कार्य गर्दछन् । शक्तिको बाँडफाँड पनि सोहीअनुसार निर्धारण गरिएको छ ।

लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि युनियन र यसमा आबद्ध सञ्चारकर्मीहरूले ०६२ र ६३ ताका गरेको आन्दोलन अविष्मरणीय छ । श्रमजीवी पत्रकार ऐन २०५१ निर्माण, नेपालको अन्तरिम संविधान २०६३ मा रहेका स्वतन्त्र प्रेससम्बन्धी हक, सूचनाको हकसम्बन्धी ऐन २०६४ र यसअन्तर्गत स्थापना गरिएको सूचना आयोग स्थापनामा नेपाल प्रेस युनियनको भूमिका उल्लेखनीय रह्यो ।

आगामी नवौं महाधिवेशन

प्रेस युनियनको आगामी नवौं महाधिवेशन मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ । महाधिवेशन आगामी साउन ६ र ७ गते हुने गरी समय तोकिएको छ । तर संगठनभित्र विवादका निकै चिरा छन् । तोकिएको मितिमा सफलतापूर्वक महाधिवेशन सम्पन्न हुने हो कि होइन भन्ने आशंका अझै पनि छ ।

तीनवर्षे कार्यकाल सकिनेबित्तिकै अर्को नेतृत्व हुनुपर्ने युनियनको वर्तमान कार्यसमितिले आठ वर्ष बिताइदिएको छ । ०७१ भदौमा पोखरामा भएको आठौं महाधिवेशनपछि बल्ल नवौं महाधिवेशन हुन लागेको हो । बल्लतल्ल केही कुरा मिलेपछि महाधिवेशनका लागि मनोनीतबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भइसकेका छन् ।

युनियनको महाधिवेशनमा सहजीकरण गर्नका लागि पार्टीले एक कुशल राजनीतिज्ञलाई जिम्मेवारी दिने प्रावधान छ । त्यो जिम्मेवारी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई दिइएको छ । नयाँ कार्यसमिति सर्वसहमत बनाउन प्रवक्ता महतले अध्यक्षका प्रत्यासीसँग छलफल पनि चलाउँदै आएका छन् ।

आठ वर्षसम्म बदनाम भएको युनियनलाई सर्वसहमतिमा नेतृत्व चयन गरी सकारात्मक सन्देश दिने प्रयास भइरहेको छ । तर हुने सम्भावना भने एकदमै कम देखिएको छ । अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढी आकांक्षी छन् । उनीहरू प्रायः सबै आ–आफ्नो अडानबाट टसको-मस हुने छाँटकाँट देखिँदैन । सर्वसहमतिमा नेतृत्व चयन हुने नसके निर्वाचनबाट युनियनको नेतृत्व चयन हुनेछ । जसलाई प्रजातान्त्रिक प्रक्रियाका रुपमा लिन सकिन्छ ।

नेतृत्वका लागि आकांक्षी को को छन् त ?

आगामी कार्यसमितिका लागि युनियनका सल्लाहकार एवं पूर्वमहासचिव शिव लम्साल, वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, अनिता विन्दु, ईश्वरी ओझा, सरोज अधिकारी, भुवन भट्ट, सन्तोष न्यौपाने, रामप्रसाद दाहाल, उमिद बागचन्द, दामोदर दवाडीलगायत आकांक्षी देखिएका छन् । अनिता विन्दु र सरोज अधिकारी संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी घोषणा गर्नेमध्ये बलियो दाबेदार हुन् ।

विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्ष हुन् भने अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् । संस्थापनइतरबाट शिव लम्साल र दीपक आचार्यको अध्यक्ष पदमा दाबी छ । संस्थापन पक्ष र संस्थापनइतरबाहेक तटस्थ बसेर केहीले उम्मेद्वारी दिने तयारी गरेका छन् । यस्तै सन्तोष न्यौपाने र रामप्रसाद दाहालले पनि स्वतन्त्र रुपमा अध्यक्षको दाबेदारी गरिरहेका छन् ।

अन्य पदका आकांक्षी

प्रेस युनियनको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, नीरज खतिवडालगायत आकांक्षी देखिएका छन् । उपाध्यक्षमा भने सलोजा दाहाल, कल्पना शर्मा, जनार्दन घिमिरे, दिलीपाश्री अधिकारी, ऋषिकान्त पौडेललगायत आकांक्षी छन् ।

यस्तै महासचिवमा काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, खिला कार्की, भीष्मराज ओझा, शिवराज योगी, दिलीप पौडेल, रमेश वाग्ले, विमल ज्ञवालीले उम्मेद्वारीको घोषणा गरेका छन् ।

यस्तै उपमहासचिवमा रवीन्द्र सुवेदी, भुवन शर्मा, युवराज गौतम, कुसुम विक (सेन्चुरी), सुलोचना गौतमलगायतले आकांक्षा देखाएका छन् । माधव धिताल, मित्र भण्डारी, पदमराज जोशीलगायतले कोषाध्यक्ष पदमा उम्मेद्‌वारी दिने घोषणा गरेका छन् । सचिवमा कालिका महत, खगेन्द्र भण्डारी, एलपी देवकोटा, टीकाराम सुनार, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मीलगायत आकांक्षी छन् ।

सदस्य र अन्य पदाधिकारीमा पनि उम्मेद्वारी दिनेको लर्को लागेको छ । पार्टीले सर्वसहमतिमा नेतृत्व चयन गर्ने वा उम्मेद्वारी तय गर्ने भन्ने अझै टुंगो नलागेको हुँदा उम्मेद्‌वारी दिनेको संख्या घट्बढ हुने पक्का देखिन्छ ।

प्रतिक्रिया