मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

नेपालखोज २०८२ माघ ५ गते १६:३१

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । हिमाली जिल्ला मनाङमा मतदाता थपिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् ।

विसं २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेकामा अहिले बढ्को प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए ।

उनका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा २२१ मतदाता बढेको छ । महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने प्रमुख कुँवरले बताए ।

नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए ।

भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो ।

त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ । -रासस

प्रतिक्रिया