कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी

सुदूरपश्चिम । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आज यहाँ मनोनयन दर्ता गराउनेमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । उम्मेदवारहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका हुन् ।
निर्वाचन क्षेत्र नं १ मा छ स्वतन्त्रसहित १९, क्षेत्र नं २ मा तीन स्वतन्त्रसहित १६, क्षेत्र नं ३ मा ११, क्षेत्र नं ४ मा एक स्वतन्त्रसहित १६ र क्षेत्र नं ५ मा तीन स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
सबै निर्वाचन क्षेत्रमा आज उम्मेदवारीको मनोनयन दर्ताको काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कैलाली निर्वाचन क्षेत्र–४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
सुदूरपश्चिममा राष्ट्रिय रूपमा चर्चित नेताहरूमध्ये अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावल, कञ्चनपुर–२ मा नेपाली कांग्रेसका नेता नरायणप्रसाद (एनपी) साउद र बैतडीमा कांग्रेससका चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारीले उम्मेदवारी दिए ।
एक निर्वाचन क्षेत्र रहेको बाजुरा जिल्लामा एक स्वतन्त्रसहित सात, बैतडीमा दुई स्वतन्त्रसहित १२ र बझाङमा सात र दार्चुलामा आठ जनाले उम्मेदवारी दिनुभएको सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
पार्टीबाट टिकट नपाएर असन्तुष्ट भएका कतिपय आकांक्षीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी घटनापछिको परिवर्तित अवस्थामा भइरहेको निर्वाचनमा मनोनयन दर्तासँगै यसअघिका चुनावको तुलनामा यसपटक भिन्न र रोचक प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको भनाइ छ ।
टिकट वितरणमा देखिएको असन्तुष्टि र आन्तरिक किचलोका कारणले पनि यसपालिको चुनाव रोचक बन्ने देखिएको स्थानीय भोजराज पाण्डेयले बताए ।
सुदूरपश्चिमका सबै नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन् । पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस आठ, नागरिक उन्मुक्ति पार्टी तीन, तत्कालीन नेकपा (एकीकृत समाजवादी) तीन, नेकपा (एमाले) दुई क्षेत्रमा विजयी भएको थियो ।

प्रतिक्रिया