ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार

नेपालखोज २०८२ माघ ८ गते १९:४०

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् ।

जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८४० महिला र ३८ हजार ८९७ पुरुष गरी जम्मा ७७ हजार ७३७ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ जना र स्वतन्त्रबाट १२ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तीमध्ये तीन महिला उम्मेदवार रहेका छन् । ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन् ।

यस क्षेत्रमा १६ जना राजनीतिक दलबाट र सात स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ महिला उम्मेदवारको सङ्ख्या दुई जना मात्र रहेको छ ।

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४३७ मतदाता रहेका छन् । यस क्षेत्रमा कूल २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट पाँच महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनको तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया