टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै

नयाँदिल्ली । भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले भनेको छ, ‘समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका छन् ।
भारत र श्रीलङ्काको संयुक्त आतिथ्यमा हुने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बङ्गलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिहा गर्न इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज कोलकाता नाइट राइडर्सलाई आदेश दिएपछि नयाँ दिल्ली र ढाकाबीचको विवाद उत्पन्न भएको थियो ।
राष्ट्रवादी भारतीय हिन्दुहरूले मुस्लिम बहुल बङ्गलादेशमा हिन्दु समुदायमाथि कथित आक्रमणको विरोधको आह्वान गरेका थिए । ढाकाले भारतीय मिडियाले हिंसाको स्तरलाई बढाइचढाइ गरेको दाबी गरेको छ। विवादपछि बङ्गलादेशले भारतमा आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो र उनीहरूलाई श्रीलङ्कामा खेल्न मिल्ने गरी खेल सार्न आग्रह गरेको थियो, तर आईसीसीले बङ्गलादेशको सुरक्षामा कुनै विश्वसनीय खतरा नभएको भन्दै अपिल अस्वीकार गरेको थियो ।
टि–२० विश्वकप छनोटमा बाहिरिएको टि–२० वरियताको अर्को शीर्ष टोली स्कटल्यान्डले बङ्गलादेशको स्थानमा खेल्नका लागि आइसिसीले स्वीकृति दिएपछि स्कटल्याण्डलाई गुमिसकेको अवसर प्राप्त भएको हो । सन् २०२४ मा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेश र भारतबीच राजनीतिक सम्बन्धमा तिक्तता आएको छ ।
हसिना अपदस्थ भएपछि आफ्ना अति निकटस्थ सहयोगीसहित भारतमा शरण लिन पुग्नुभएको थियो । आन्दोलनपछि बनेको अन्तरिम सरकारले अपदस्थ हसिनाको स्थानमा नयाँ व्यक्तिको चयन गर्न आन्दोलनपछि पहिलो पटक बङ्गलादेश चुनावको चटारोमा छ । –रासस/एएफपी

प्रतिक्रिया