चलचित्र ‘कुमारी’को अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्व रिलिज अधिकार बिक्री

नेपालखोज २०८२ माघ १२ गते १४:०३


काठमाडौं । माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ । अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि चलचित्र बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारी ले जानकारी दिए । अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले चलचित्र रिलिज गर्नेछन् ।

ट्रेलरले पाएको सफल प्रतिक्रिया र दर्शकको उत्साहपछि अन्य देशहरूबाट समेत चलचित्र प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए । काठमाडौंको भृकुटीमण्डपमा दश हजारभन्दा बढी दर्शकको ऐतिहासिक उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि चलचित्रले स्वदेश तथा विदेशमा व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने छोटो समयमै युट्युब ट्रेन्डिङमा पर्न सफल ट्रेलर करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ ।

निर्देशक दिनेश राउत ले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह सिनेमा हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्‌ । चलचित्र ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन को रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन् ।

चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ ले यसअघि नै चर्चा बटुलिसकेका छन्। विशेष गरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। चलचित्रका सबै गीतमा केहर सिंह लिम्बु को स्वर रहेको छ भने सङ्गीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङको रहेको छ । प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउतले सामाजिक विषयका चलचित्रपछि पुनः प्रेम कथामा फर्किएको ‘कुमारी’ ले स्वदेश र विदेशका दर्शकको मन जित्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया