जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख । दैलेखको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
महावु गाउँपालिका–५ कुटीमा सोमबार (माघ १२) दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२:०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत् उद्धारका लागि पहल गरिए पनि उपचारका लागि लैजान नपाउँदै मृत्यु भएको महावु–५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।
सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट सोमबारै दुईजना घाइते भएका छन् । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली छन् । उनीहरू दुवैको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतंक सिर्जना गरेको स्थानीयले बताएका छन् ।
महावु–४ गीताचौर स्वास्थ्यचौकीका इञ्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भने, “आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थलनजिकै ५०–६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतङ्कित छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।”
घटनाको जानकारी पाएलगत्तै काँशिकाँध अस्थायी प्रहरी चौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छ भने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् ।
प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए । “हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ”, उनले भने ।
क्षेत्रमा विगत केही समयदेखि जंगली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतंकका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् । -रासस

प्रतिक्रिया