मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

जनकपुर । मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किशोरीजीको डोलाले सम्पूर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन् ।
दुई डोलाको पछाडी हजाराँैको संख्यामा साधुसन्तहरुले परिक्रमा गरेका छन् । प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक स्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एक सय आठ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।
परिक्रमामा सहभागि भएकाहरु १५ दिनसम्म आफ्नो घर नफर्कने चलन रहेको छ । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।
सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर, फुलहर तथा महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिकरुपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।
फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पूरा गरेर घर फर्कने परम्परा रहिआएको छ । मिथिला महात्मयमा उल्लेख भएअनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ, जसमध्ये मध्यमा अर्थात् मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ ।
किशोरीजी डोलाका महन्थ नवलकिसोर शरणले परिक्रमा परिवारिक कल्याणको लागि गरिने गरिएको बताए । १५ दिनसम्म साधु सन्तहरु र श्रद्धालुहरु एकै ठाउमा बसेर भजन किर्तन गर्ने गरिएको उनले बताए ।
प्रतिक्रिया