पाल्पा दरबार !

आजको ठिक २० वर्ष अगाडि माओवादीका सशस्त्र समूहले २०६२ माघ १८ गते राती १०:४२ बजे पाल्पा आक्रमण गरेर पाल्पा जिल्लाकै अमूल्य धरोहर पाल्पा दरबारलाई जलाएर ध्वस्त बनाएको थियो ।
वीरशम्शेरले आफ्नै काका रणोद्वीपको हत्या गरी शासन आफ्नो हातमा लिएपछि आफ्नै भाइभारदारहरुको लागी सत्ता सुरक्षित राखे, जस अनुसार रोलक्रम पनि बनाए। राणाकालमा गठन गरिएको ४ गौंडामा पश्चिमकाे पाल्पा गौंडा प्रमुख रुपमा रहेको थियो। यस गौडामा श्री ३ महाराजाहरु आफ्ना भाइभतीजालाई मात्र तैनाथवाला अर्थात बडाहाकिम बनाउँथे ।
वीरसम्शेर पछि श्री ३ बनेका देवसम्शेरलाई हटाई श्री ३ बनेका चन्द्रसम्शेरले भतीजा प्रताप सम्शेरलाई १९८१ मा पश्चिम कमाण्डिङ जर्नेलको रुपमा पाल्पाकाे बडाहाकिम बनाएर पठाएका थिए। प्रताप सम्शेरले वृद्ध वास्तुकार जोगवीर स्थापितको डिजाईनमा पाल्पामा दरबार बनाए ।
वि.सं. १९८२ मा तैयार भएको पाल्पा दरबारलाई चारबुर्जा दरबारको नक्कलमा बनाउन लगाएका थिए। तर यसमा अगाडि देखिने भागमा दुई बुर्जामात्र बनाईयो । करीब ८ रोपनी क्षेत्रफलामा फैलिएको यस दरबारमा ४ तला, २ बुर्जा तथा ६३ वटा कोठा रहेको थियो। जहाँ २ ठूला बैठक कोठा बनाईएको थियो।
राणाकालमा निजी आवास तथा केही प्रशासनिक कार्य यहि दरवारबाट हुने गर्दथ्यो। देशमा प्रजातन्त्र आगमन पछि पनि २०१८ सालसम्म बडाहाकिमले नै प्रशासकीय प्रमुखको रुपमा यही दरबारमा रहेर कार्य गर्न थाले।
२०६२ साल सम्म पाल्पाको अधिकांश सरकारी कार्यालय रहेको यस दरबारलाई माओवादीका सशस्त्र समूहले २०६२ माघ १८ गते राती १०:४२ बजे पाल्पा आक्रमण गरे। आक्रमणमा सरकारी सेनासँग दोहोरो भिडन्त लामो समयसम्म गरिरह्यो। माओवादी निशानामा पाल्पा दरबार रहनुको प्रमुख कारण यस भित्र जिल्ला प्रशासन कार्यालय रहेको थियो ।
यस्का साथै यस दरबमर भित्र जिल्ला विकास समिति, सरकारी वकिलको कार्यालय, जिल्ला अनुसन्धान विभाग, मालपोतका साथै प्रमुख जिल्ला अधिकारीको निवास समेत यसै परिसर भित्र रहेको थियो। त्यसैले पनि माओवादीले जलाएर ध्वस्त बनाएको थियो।
देशमा गणतन्त्र आगमन भएपछि २०७२ सालमा ६ करोड ३२ लाख खर्चेर दरबारलाई पुरानै स्वरुपमा पुननिर्माण सम्पन्न गरिएको छ। हाल यस्लाई पाल्पा दरबमर संग्रहालयका रुपमा स्थापित गरिएको छ।

प्रतिक्रिया