शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभा निर्वाचनको संकेत

नेपालखोज २०७६ पुष २२ गते १२:५१

२२ पुस, काठमाडौँ । गत आइतबार नामांकन भएसंगै राष्ट्रिय सभाकालागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको छ । चक्रिय प्रणाली अनुसार प्रत्येक दुई वर्षमा कुल सभासद संख्याको एक तिहाई पद रिक्त हुने भएकाले रिक्त पद पूर्ति गर्न जम्मा १९ सदस्य मध्ये १८ जनाको प्रदेशहरु बाट निर्वाचन मार्फत र बाँकी एक सिटमा राष्ट्रपतिद्वारा मनोनयन गरिने व्यवस्था रहेको छ।

वर्तमान प्रादेशिक संरचना अनुरुप ६ प्रदेशमा नेकपा स्पष्ट बहुमत प्राप्त दलको रुपमा देखा परेको छ भने दुई नम्बर प्रदेशमा नेकपा र राजपाबीचको गठबन्धन पछि त्यहाँ पनि चार मध्ये दुई सिटमा नेकपाको सम्भावना बलियो भएको छ । यसरी अहिले हुनलागेको निर्वाचनमा जम्मा १८ सिट मध्ये १६ वटा राष्ट्रिय सभाको सदस्यमा नेकपालाई लाभ प्राप्त हुने देखिन्छ ।

प्रदेश नंबर दुईमा नेकपा र राजपा गठबन्धन विरुद्ध नेपाली काँग्रेस र समाजवादी पार्टीको गठबन्धनले पनि उम्मेदवारी दिएको छ । अन्य ६ प्रदेश को निर्वाचन भन्दा पनि दुई नम्बर प्रदेशमा हुने चुनाव आफ्नो रोचकताका कारण चासोको विषय बनेको छ । संयोगवश मधेस केन्द्रित दलहरु राजपा र समाजवादी पार्टीले आफ्ना तर्फबाट प्रस्तुत गरेका सबै उम्मेदवार सप्तरी जिल्लाका हुन ।

राजपाले गठबन्धनमा पाएको दुई सीटमा आफ्नो पार्टीको वरिष्ठ उपाध्यक्षहरू मृगेन्द्र कुमार सिंह यादव र शेखर प्रसाद सिंहलाई उम्मेदवार बनाएका छन् भने समाजवादी पार्टीको तर्फबाट रामप्रित पासवान र अनिरुद्ध सिंह यादव छन् । यसमा पनि सहोदर दाजु भाई भएपनि निर्वाचनमा होमिएको एउटै परिवारका कारणले अझ बढी रोचकताको बिषय बनेको छ मृगेन्द्र र अनिरुद्ध सिंह यादवको उम्मेदवारी । पंचायतकालीन पूर्व मन्त्री स्व. शत्रुघ्न प्रसाद सिंह यादवका छोराहरु यी दुवै सप्तरी जिल्लाको पुरानो जमिन्दार परिवारका वंशज हुन । पछिल्लो संसदीय निर्वाचनमा पनि यी दुवै दाई भाईहरु परस्पर प्रतिस्पर्धी भएका थिए । एउटै परिवारमा आपसी द्वन्द्वको कारण मत विभाजन भएकोले त्यसको लाभ लिंदै नेपाली काँग्रेसको उम्मेदवारले विजय प्राप्त गरेको थियो ।

सप्तरी जिल्लामा यादवहरुले प्रायः जसो आफ्नो थर लेख्न ’सिंह’ शब्द को प्रयोग गरेको देखिन्न । शत्रुघ्न यादवको परिवारमा उक्त थर लेख्ने गरेको पनि रोचक कथा छ । पंचायत कालमा तत्कालीन राजा महेन्द्रले जिल्लाहरुको भ्रमण गर्ने क्रममा स्थानीय समाजसेवी र जमिन्दारहरूलाई विकास निर्माणमा सहयोग गर्न प्रोत्साहन गर्ने गर्दथे । यही क्रममा सप्तरी जिल्लामा राजाको भ्रमण हुँदा सदरमुकाम राजविराजमा बिन्देश्वरी प्रसाद सिंहले पब्लिक बिन्देश्वरी नाममा माध्यमिक विद्यालय र अर्को जमिन्दार विन्देश्वरी यादवले महेन्द्र विन्देश्वरी क्याम्पस निर्माण गर्ने घोषणा गरे ।

आन्तरिक प्रतिस्पर्धाका कारण अर्को जमिन्दार शत्रुघ्न यादवले तत्कालीन बड़ाहाकिमलाई आफ्नो तर्फबाट पनि राजालाई उपहार दिने चाहना देखाएकोले उनको गाउँमा माध्यमिक विद्यालय निर्माण गर्ने घोषणा गरियो । यी स्कुल कलेजहरु निर्माण गर्ने जमिन्दारहरूलाई तत्कालीन राजाले धन्यवाद दिने चलन स्वरुप राजा महेन्द्रले शत्रुघ्न यादवलाई शत्रुघ्न सिंह भन्दै सम्बोधन गरेदेखि उनले आफ्नो नाममा ’सिंह’ थरलाई आत्मसात गरेका थिए । पछि प्रत्यक्ष निर्वाचनमा स्वजातीय मतदाताहरुलाई भ्रमित नहुन ’यादव’ थर लाई पनि फेरि थपिएको थियो ।

राजपाको दास्रो उम्मेदवार पार्टीको वरिष्ठ उपाध्यक्ष शेखर प्रसाद सिंह पनि पुरानो ठूला जमिन्दार खलक का हुन । त्यस्तै दलित समुदायको प्रतिनिधित्वको रुपमा समाजवादी पार्टीको तर्फबाट रामप्रित पासवानलाई उम्मेदवार बनाइएको छ । उनी तत्कालीन एमालेबाट सांसद समेत भईसकेका छन् ।

प्रदेश नंबर दुईकालागि हुने राष्ट्रिय सभाको निर्वाचनकालागि कुल मतदाता संख्या ३७९ रहेको छ । जसमा हालै गरिएको गठबन्धन अनुसार राजपा र नेकपाको १८४ मत रहेको देखिन्छ भने नेपाली काँग्रेस र समाजवादी पार्टीको १८२ मत छ । यस बाहेक अन्य तीन वटा मत पनि छ । दुई वटा मतको मात्रै फरक रहेको अवस्था र तीन वटा गठबन्धन बाहिरको मत रहेकोले निर्वाचन परिणामको आकलन सोचे भन्दा अलग देखिन सकिने कुरालाई इन्कार गर्न सकिन्न ।

पछिल्लो संसदीय निर्वाचनमा गठबन्धन गरेर भाग लिएको राजपा र ससफो (समाजवादी पार्टी) अहिले परस्पर प्रतिस्पर्धी भएका छन् । राजपा र नेकपाको गठबन्धन र समाजवादी पार्टीको सरकारबाट बहिर्गमन पछि बनेको नयाँ परिस्थितिमा यो निर्वाचनले दुई नम्बर प्रदेशको राजनीतिमा दूरगामी प्रभाव पार्ने सम्भावना रहेको छ । कट्टर विरोधी रहेको तत्कालीन एमालेसंग उनको पार्टी कार्यालयबाट संयुक्त रुपमा जुलुस सहित नामांकन दिन निर्वाचन आयोग पुगेको राजपाकालागि यो निर्वाचन भविष्यको राजनीतिक दिशा निर्देश गर्ने हो ।

यसैगरी, नेपाली काँग्रेससंग संसदीय निर्वाचनमा सहकार्य गर्न सहमत नभएको उपेन्द्र यादवले पछिल्लो समयमा पनि राजपा, कांग्रेस र समाजवादी पार्टीको त्रिपक्षीय गठबन्धन गरेर चुनावमा भाग लिन स्वीकारेका थिएन । उनको पहिलो प्रयास स्वरुप नेकपासंग गठबन्धन गरेर राजपालाई मधेसको राजनीतिमा किनार लगाउने कोसिस थियो । यसका लागि उनले नेकपाको कार्यकारी अध्यक्ष प्रचण्डसंग तालमेल मिलाउन छलफल गरिरहेका थिए तर प्रधानमन्त्री केपी ओलीले एक्कासी राजपासंग गठबन्धन गरेर प्रचण्डलाई हैसियत देखाउदै उपेन्द्र यादवलाई सत्ता बाहिर जाने बाटो देखाइ दिए ।

घटनाक्रमबाट तिल्मिलाएका उपेन्द्रले अहिले फेरि एकपटक नेपाली काँग्रेससंग सहकार्य गर्ने प्रयास गरेका छन् । पहिलो संविधान सभाको निर्वाचन पछि भएको राष्ट्रपतिको निर्वाचनमा पनि लगभग यसै प्रकारको परिस्थिति थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले मिलेर सरकार गठन गरेको थियो । राष्ट्रपतिकालागि माओवादी गठबन्धनका तर्फबाट रामराजा प्रसाद सिंह उम्मेदवार थिए भने नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट रामवरण यादवलाई उम्मेदवार बनाइएको थियो ।

मतदाताको संख्या अनुसार माओवादी गठबन्धनका उम्मेदवार रामराजा प्रसाद सिंह स्पष्ट बहुमतमा रहे पनि उपेन्द्र यादवको आन्तरिक राजनीतिक व्यवस्थापनका कारणले रामवरण यादव राष्ट्रपति पदमा विजयी भएका थिए । यस पटक फेरि उपेन्द्रले नेपाली काँग्रेसलाई लगभग सोही प्रकृतिको आश्वासन दिएको देखिन्छ । दुवै गठबन्धनबीच जम्मा दुई मतको अन्तर र गठबन्धन बाहिरका तिन वटा मतदाता निर्णायक भूमिकामा देखिन्छन् ।

मधेसको राजनीतिमा सत्ता समीकरण र उपेन्द्र यादवको राजनीतिक अनुभवको आधारमा यस पटकको राष्ट्रिय सभाको निर्वाचनले दुई नम्बर प्रदेशकालागि आउने दिनमा गम्भीर प्रभाव पार्ने निश्चित छ । यही निर्वाचनले राजपाकोलागि केन्द्रिय राजनीतिमा सत्तारोहण गर्ने मार्गचित्र तय हुनेछ भने प्रादेशिक संरचना परिवर्तनको बाटो पनि खुल्न सक्ने सम्भावना छ । राष्ट्रिय राजनीतिमा नेकपाका लागि लाभदायक हुनेछ भने नेपाली काँग्रेसले पाएको ठाउँ पनि गुमाउनु पर्ने देखिन्छ । जुनसुकै अवस्था भएपनि राष्ट्रिय सभाको यो निर्वाचनले एकपटक फेरि चिसिएको काठमाडौंलाई तताउनुका साथै रोचक पनि बनाउने निश्चित छ । – देवेश झा

प्रतिक्रिया