शुक्रबार, जेठ ४, २०८१

गर्दन दुख्दा गरिने ४ मुख्य व्यायाम !

डा. हेमराज कोइराला २०७८ साउन ३२ गते ८:४५

व्यस्तता, भागादौड र तनावग्रस्त जीवन जिउने जो कोही गर्दन दुख्ने समस्याले ग्रस्त हुन सक्छन् । गर्दनको दुखाइ गर्दनको हड्डी खिएर, नसा च्यापिएर कार्टिलेज र मांसपेशीको दु्र्बलताका कारण उत्पन्न हुनसक्छ । यस्तो अवस्थामा गर्दनका मांसपेशीलाई बलियो बनाउने व्यायाम गर्नुपर्ने हुन्छ ।

यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्नु बढी प्रभावकारी हुन्छ ।

गर्दन दुख्दा गर्नसकिने व्यायाम :

व्यायाम – १
दुवै हातले अगाडि र टाउकोले पछाडि ठेल्ने :
ढाड, कम्मर र गर्दनलाई सीधा राखेर बस्ने । अब दुवै हातका औंलालाई कैंची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टि राख्ने । हात राखेपछि हातले टाउकोलाई अगाडि र टाउकोले हातलाई पछाडिपट्टि धकेल्ने अनि २० सेकेन्ड जति रोकेर राख्ने ।

व्यायाम – २
दुवै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने :
ढाड तथा कम्मर सीधा राखेर बस्नुहोस् । अब दुवै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । त्यसपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडिपट्टि धकेल्नुस् अनि सेकेन्ड जति रोकेर राख्नुहोस् ।

व्यायाम -३
देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने :
पूर्ववत् अवस्थामै बस्नुहोस् र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतर्फ ठेल्नुहोस् र टाउकोले देब्रेतिर ठेल्नुहोस् अनि २० सेकेन्ड जति रोकेर राख्नुहोस् ।

व्यायाम – ४
दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने :
पूर्ववत् अवस्थामै बस्नुहोस् र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतिर ठेल्नुहोस् र टाउकोले दाहिनेतिर ठेल्नुहोस् । यसलाई पनि २० सेकेन्ड जति रोकेर राख्नुहोस् ।
यी सबै व्यायामलाई ५-५ पटक दोहोर्‍याउनुहोस् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया