प्रधानमन्त्री कप छनोट क्रिकेट : बैतडी फाइनलमा

नेपालखोज २०८२ माघ २३ गते १८:५८

बैतडी । बैतडीको पुरुष टोली प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । बैतडीले आजको खेलमा डडेल्धुरामाथि पाँच विकेटको सहज जित निकालेको हो ।

यसअघि बैतडीले बझाङलाई आठ विकेट र दार्चुलालाई १२८ रनले हराएको थियो । खराब मौसमका कारण आजको खेल २० ओभरमा छोट्याइएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको डडेल्धुराले पाँच विकेटको क्षतिमा १३६ रन बनायो ।

डडेल्धुराका लागि अर्जुन विकले ३७ र विशाल ऐरले ३७ रन बनायो । बलिङतर्फ बैतडीका गजेन्द्र बोहराले तीन, नरेन भट्ट र हिक्मत महराले एक–एक विकेट लिए ।

एक सय ३७ रनको लक्ष्य बैतडीले १८ दशमलव एक ओभरमा पाँच विकेटको नोक्सानीमा भेट्टायो । बैतडीका लागि लोकेन्द्र चन्दले अर्धशतकीय पारी खेल्दै ५४ रनको योगदान दिए । उनी ‘प्लेयर अफ दी म्याच’समेत भए ।

यस्तै दीपक बोहराले अविजित ३१ र आयुश चन्दले अविजित ३० रन बनाए । बलिङतर्फ डडेल्धुराका अर्जुन विकले तीन तथा सुरज देउवा र सुवेशसिंह रावलले एक–एक विकेट लिए । बैतडीले अब फाइनलमा शनिबार कञ्चनपुरको सामना गर्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा प्रदेशका आठ जिल्ला सहभागी छन् ।

प्रतिक्रिया