कुमारी बैंकमा अब फोनलोनबाटै पटक–पटक कर्जा निकाल्न मिल्ने

नेपालखोज २०८२ माघ २३ गते २०:३७

काठमाडौं । नेपालको डिजिटल बैंकिङ क्षेत्रलाई थप सहज र ग्राहकमुखी बनाउने उद्देश्यका साथ कुमारी बैंकले ‘कुमारी फोनलोन’ अन्तर्गत ‘मल्टी डिस्बर्सल’ सुविधा सञ्चालनमा ल्याएको छ ।

डिजिटल कर्जा प्रवाहको अग्रणी प्लेटफर्म फोनलोन र कुमारी बैंकबिचको सहकार्यमा सुरु भएको यो सेवाले अब ग्राहकलाई आफ्नो आवश्यकता अनुसार कर्जाको सीमाभित्र रहेर पटक–पटक रकम निकाल्ने स्वतन्त्रता दिएको छ ।

यसअघि स्वीकृत भएको सम्पूर्ण कर्जा रकम एकैपटक लिनुपर्ने र अर्को कर्जाका लागि पुरानो ऋण चुक्ता गर्नुपर्ने बाध्यता रहेकामा यो नयाँ सुविधाले उक्त झन्झटलाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ ।

यो नवीन सेवा अन्तर्गत योग्य ग्राहकले आफूलाई बैंकले तोकिदिएको कुल कर्जा सीमाबाट चाहिएको बेला चाहिए जति मात्र रकम निकाल्न सक्नेछन् । यसरी लिइने कर्जाको सबैभन्दा ठुलो विशेषता भनेको ग्राहकले जति रकम प्रयोग गर्छन्, त्यतिमा मात्र ब्याज लाग्नेछ ।

बाँकी रहेको कर्जा सीमा भने भविष्यका लागि सुरक्षित रहनेछ, जसका कारण प्रयोगकर्तालाई अनावश्यक ब्याजको भार नपर्ने र वित्तीय व्यवस्थापनमा पारदर्शिता आउने विश्वास गरिएको छ ।

कुनै पनि कागजी प्रक्रिया वा बैंकको शाखासम्म पुग्नु नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत नै यो सुविधा तत्कालै उपभोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कुमारी बैंकका योग्य ग्राहकले अब कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो र बिना कुनै झन्झट यो नयाँ सुविधा प्रयोग गरी आफ्नो वित्तीय गर्जो टार्न सक्नेछन् ।

प्रतिक्रिया