चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

नेपालखोज २०८२ माघ २४ गते १०:५४

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।

उनका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो ।

चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पु¥याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।

ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया