अण्डाको मूल्यमा भारी गिरावट
चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ ।
नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरिएको छ ।
यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो ।
मझौलाको रु ५५० थियो । सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उहाँले जानकारी दिए ।
अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ ।
लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् । सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

प्रतिक्रिया