‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित सीमा नाकामा कडाइ’

नेपालखोज २०८२ माघ २८ गते १८:०८

रौतहट । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ ।

स्थानीय बासिन्दाका अनुसार निर्वाचनको मिति नजिकिएसँगै सीमापारीस्थित भारतीय भूमिबाट गैरकानुनी रुपमा रौतहटतर्फ भित्रिनसक्ने हातहतियार, गोली, बारुद, पटका, लागुपदार्थजस्ता अवैध वस्तुको कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि जिल्लास्थ्ति प्रहरी संयन्त्र अझ सशक्त र चलायमान भएसँगै चारी, तस्करीमा संलग्न गिरोह निष्क्रिय भएको अवस्था छ ।

विशेषगरी आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनका क्रममा जिल्लामा शान्ति सुव्यवस्था अमनचयन कामय गरी आफूले रोजेका उम्मेदवारलाई मत दिन पाउने जनताको अधिकार सुनिश्चित गर्ने, गराउने प्रयोजनसहित अन्य सुरक्षा संयन्त्रसँगको समेत सहयोग र सहकार्यसहित प्रहरी संयन्त्र अझ जागरुक र गतिशील हुँदा कर छली अनधिकृत रुपमा भित्रिएका समान बरामद हुनेक्रम पछल्लो समयमा बढेको रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

यसैगरी, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले निर्वाचनलाई लक्षित गरी सीमानाका क्षेत्रको सुरक्षा व्यवस्था कडाइ गरेसँगै कर छली तथा अवैध कारोबार धन्धा करिब नियन्त्रणमा आएको, चोरबाटो हुँदै गैरकानुनी कारोबारमा संलग्न व्यक्तिको हकमा समानसहित पक्राउ दर वृद्धि भएको, चोरीतस्करीमा संलग्न गिरोह निष्क्रिय हुँदा समाजमा शान्तिसुरक्षाको प्रत्याभूति भएको बताए ।

यसैबीच, इलाका प्रहरी कार्यालय सिम्रौनगढले पछिल्लो तीन महिनामा कैद सजाय तोकिएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको, १८ वटा मुद्दा दायर गरेको, करिब ८० केजी गाँजासहित चार जनालाई पक्राउ गरेको र ४६ हजार थान लागुऔषध हाइड्रोक्लोराइड बरामद गर्न सफल भएको जनाएको छ । -रासस

प्रतिक्रिया