सिद्धार्थ फर्मास्युटीकल्स र सिद्धार्थ क्यापिटलबीच सम्झौंता

नेपालखोज २०८२ माघ २८ गते २०:३८

काठमाडौं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका १० लाख कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा मंगलबार काठमाडौं नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

वि.सं. २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ सालदेखी उत्पादन गरिरहेको सिद्धार्थ फर्मास्युटिकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन मार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ ।
कम्पनीले डब्लु एचओ जिएमपी, नेशनल जिएमपी प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीको मूल लक्ष्य “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस” भन्ने विश्वासमा आधारित छ । यस कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा रहेको छ ।

यस प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया डब्लु एच ओ जिएमपी मापदण्ड अनुरूप रहेका छन्, जसको उद्देश्य ग्राहकको आवश्यकता पूरा गर्दै उच्चतम गुणस्तरका उत्पादनहरू सुनिश्चित गर्नु रहेको छ । कम्पनीका सबै इकाईहरूमा गुणस्तरीय अत्याधुनिक र विश्वस्तरीय उपकरणहरू रहेका छन् ।

प्रतिक्रिया