केही निर्वाचन सामग्री छपाइ सम्पन्न

नेपालखोज २०८२ माघ २९ गते १३:१४

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा ल्याउन सुरु गरिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अरू निर्देशिका आवश्यक मात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

यी सबैलाई पनि निर्वाचनका अरू सामग्रीसँगै ७७ वटै जिल्लामा पठाउने तयारी गरिएको छ । प्रतिष्ठानबाट पहिलो चरणमा पाँच हजार छपाइ सामग्री आएको उनले सुनाए । बाँकी सामग्री पनि अब क्रमशः आएपछि जिल्ला–जिल्लामा पठाउन तयारी अवस्थामा राखिनेछ ।

मतपत्र भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया