मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन (बागलुङ) । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु ।
बँदेल र बाँदरलगायतका वन्यजन्तुका कार स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्दै घरदैलो पुग्दै गरेका उम्मेदवारसँग बागलुङ–२ का मतदाताले यिनै समस्या सुनाउने गरेका छन् । ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नुृ परेको बताए ।
उनले भने, ‘गाउँमा सडक बनेपछि सुविधा होला भन्ने सोचेका थियौँ । तर सुविधाभन्दा बढी सास्ती भएको छ । चुनाव आउँदा यो सडक हामी बनाउँछौँ भोट दिनुभन्दा आउँछन् । भोट दिएर जितेपछि कोही पनि गाउँ फर्किएर आउँदैनन् । यो सडकले हामीलाई कति दुःख दिएको छ । यसको समाधान गर्न सक्ने नेतालाई यसपालीको चुनावमा भोट दिन्छौँ ।’
स्थानीय तुलबहादुर घर्ती मगरले घरै नजिकको जङ्गलबाट दैनिक बाँदर, चितुवा र बँदेल आएर बालीनालीको क्षति गरि दिने र मान्छेलाई आक्रमण गर्ने गरेको गुनासो गरे । वन्यजन्तुबाट समस्यामा पर्दै आएका स्थानीयको समस्या बुझ्ने उम्मेदवारलाई गाउँका स्थानीयले एकै ठाउँमा भोट दिने सल्लाह गरेको सुनाए ।
‘बिहान बेलुका बाँदर, बँदले ढपाउँदैमा दिन जान्छ । बारीमा लगाएको तरकारी, बालीनाली केही बाँकी राख्दैन । आइमाइ केटाकेटी एक्लै वरपर गर्न पनि गाह्रो हुन्छ’, उनले भने – ‘चुनावका बेला हामीलाई भोट दिनु समस्या समाधान गर्छौँ भन्ने धेरै नेता आए । तर चुनाव जितेर कहाँ गए गए ?’ निसीखोला गाउँपालिका–५ कुँडेका गङ्गाबहादुर विकले सडक व्यवस्थित नहुँदा यात्रा र सामान ढुवानी गर्न निकै कठिन हुने बताए ।
अप्ठ्यारो र साँघुरो सडकका कारण बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो भाडा तिर्न बाध्य भएको उनको भनाइ छ । यसपाली बुर्तिबाङ–ढोरपाटन र ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने उनले सुनाए ।

प्रतिक्रिया