शुक्रबार, वैशाख ७, २०८१

नेपाली श्रम बजारमा अबको बाटो के ?

नेपालखोज २०७७ असार ७ गते १६:३९

मीना साउँद,
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै यतिबेला आक्रान्त छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका निम्ति विभिन्न देशहरुले जारी गरेको लकडाउनका कारण यतिबेला विश्व श्रम बजारमै रोजगारीको अवसर घटिरहेकाबेला नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव अझै बढी पर्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले भर्खरै सार्वजनिक गरेको एक प्रतिवेदनले सन् २०२० को मध्यसम्ममा कोरोनाको कारण संसारभर नै धेरैको रोजगारी गुम्ने अवस्था रहे पनि सबैभन्दा धेरै खाडीका क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख जनाको पूर्णकालीन रोजगारी गुम्ने देखाएको छ ।

उक्त प्रतिवेदनमा खाडीपछि यूरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख, एशिया तथा प्यासेफिक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड जनाको पूर्णकालीन रोजगारी गुम्ने अवस्था छ ।

नेपालमा पनि निजी क्षेत्रसहित आंकलन गर्दा ६ देखि ७ लाख नेपालीको रोजगारी गुम्ने सम्भावना रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपध्यक्ष माधव ढुंगेलले बताए । करिब २० लाख युवाको व्यवस्थापन गर्नु पर्ने दायित्व सरकारसंग रहेको उनले बताए ।

साथै, विदेशबाट नेपाली फर्किरहँदा नेपालको जिडिबीमा ठुलो परिवर्तन आउने राष्ट्रिय युवा परिषद् कार्यकारी उपध्यक्ष माधव ढुंगेलको भनाई छ । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमेर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरिरहेको छ ।

यता, विदेशबाट उद्धार गरेर ल्याएका नेपालीहरुका लागि सरकारले विभिन्न बैंकहरुबाट, स्वरोजगार कोषहरुबाट अथवा विभिन्न सहकारी अथवा वित्तिय संस्थाहरुबाट लगानी गर्ने खालको नीति ल्याएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे बताउँछन् ।

प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको खाडी र मलेसिया गरेर हाल करिब १५ लाख नागरिक त्यहाँ कार्यरत रहेको र आप्रवास संगठनको आँकडाअनुसार २३ लाख मानिस अहिले विदेशमा कार्यरत रहेको अनुमान गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट यति नै नागरिक व्यरोजगार भएर आउन सक्ने आँकडा दुतावासले संकलन गरिरहेकोछ ।

कोरोना महामारीले श्रमिक कटौती हुने र रोजगारी घुम्ने अवस्थाले सन् २००८ र २००९ को आर्थिक मन्दीले भन्दा बढी असर गर्ने र यसले मध्यम आय भएका देशलाई सबैभन्दा धेरै असर गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले अनुमान गरेको बेला सरकारले विदेशबाट फर्किएका र स्वदेशमै व्यरोजगार रहेका युवालाई स्वदेशमै स्वरोजगार बनाउनका निम्ति समयमै आवश्यक कदम चाल्न जरुरी छ ।

प्रतिक्रिया