बदर मत सङ्ख्या घटाउन गाउँगाउँमा मतदाता शिक्षा

बागमती । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा मत बदर हुने दर घटाउने उद्देश्यले मकवानपुरमा ११५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।
मकवानपुरको १० वटै पालिकाको १०५ वटा वडामा एक÷एक जनाको दरले १०५ जना मतदाता शिक्षा स्वयंसेवक र प्रत्येक पालिकामा एक÷एक जनाका दरले १० जना अनुगमन कर्ता परिचालन गरिएको हो ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदाता शिक्षा कार्यक्रममार्फत वडामा परिचालन भएका स्वयं सेवकहरूले निर्वाचन प्रक्रिया, मतदान प्रक्रिया, मतदान गर्ने विधि, निर्वाचनमा मतदातालाई सही मतदान गर्ने तरिका, मतपत्रमा स्वस्तिक छाप लगाएपछि बदर नहुने गरी पल्टयाएर मतपेटिकामा खसाल्ने तरिकालगायतका विषयमा गाउँ टोल र घरदैलो गरी जानकारी दिइरहेका छन् ।
यही फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वयंसेविका, मातृ शिक्षा कार्यकर्ता र बालविकास सहजकर्तालाई छनौट गरी तालिम दिएर परिचालन गरिएको प्रमुख ढकालले बताए । प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा खटिने कर्मचारीलाई आजदेखि नियुक्ति दिन सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मकवानपुरको दुवै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खटिने तीन हजार ३६६ कर्मचारीलाई नियुक्ति दिन सुरु गरिएको निर्वाचन कार्यालय प्रमुख ढकालले बताए ।
मकवानपुरमा रहेको दुई निर्वाचनमा तीन सय ७४ मतदान केन्द्रमा ६ जनाका दरले दुई हजार दुई सय ४४ जना कर्मचारी र एक हजार एक सय २२ जना स्वंयम्सेवक खटाईनेछ । प्रमुख ढकालका अनुसार हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिनेछ ।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि भोली फागुन १२ गतेदेखि १४ गतेसम्म हेटौँडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने तयारी भएको प्रमुख ढकालले बताए । प्रशिक्षण पश्चात फागुन १६ गतेदेखि कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रमा खटिनेछ ।
निर्वाचनका लागि अनुसूचीहरू फाइलिङ गर्ने, मतपेटिका सरसफाइ गर्ने र प्याकिङको काम सकिएको उनले बताए । प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाको विभिन्न छ स्थानीय तहमा रहेका १९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको उहाँको भनाइ छ । अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन् । उनका अनुसार बकैयाँ गाउँपालिको पाँच वटा, राक्सिराङ गाउँपालिकाका छ वटा, बागमती गाउँपालिकाको पाँच वटा, भीमफेदी गाउँपालिकाको एक, मनहरि गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।
मकवानपुरमा यसपटक १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर १ मा ६२ वटा मतदानस्थल र १७८ मतदान केन्द्र छ भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।
मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता छन् । रासस

प्रतिक्रिया